मापसे गरेर मतदान केन्द्र जाने मतदान अधिकृत प्रहरी नियन्त्रणमा

रामकुमार श्रेष्ठ –
नवलपरासी, १ मंसिर । पश्चिम नवलपरासीमा मादक पदार्थ सेवन गरी आचरण विपरीत काम गर्ने एक मतदान अधिकृतलाई प्रशासनले प्रहरीको जिम्मा लगाएको छ ।
पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नं. ११ स्थित वाक्वाणी मावि मतदान केन्द्र ‘ख’ का मतदान अधिकृत पृथ्वीराज चौधरीले मापसे गरी मतदान केन्द्रमा आचारण विपरीत कार्य गरेकोले जिम्मेवारीबाट मुक्त गरिएको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले जानकारी दिए । चौधरी पाल्ही नन्दन गाउँपालिकाको पशु शाखामा कार्यरत अधिकृत हुन् ।
पोख्रेलका अनुसार उनको ठाउँमा वैकल्पिक मतदान अधिकृत खटाइएको छ भने उनलाई अनुसन्धान गरी आवश्यक कारवाहीको लागि प्रहरीको नियन्त्रणमा राखिएको छ ।