नवलपुरको कुमारवर्ती बहुमुखी क्याम्पसमा मतगणना हुने, ८ ठाउँमा एक साथ मतगणना गरिने

नवलपुर । भोलि हुने प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना कावासोती २ को कुमारवर्ती बहुमुखी क्याम्पसमा हुने भएको छ ।
कुमारवर्ती बहुमुखी क्याम्पसमा निर्वाचन क्षेत्र नं. १ र २ को ४÷४ स्थानमा गरी ८ स्थानमा एक साथ मतगणना हुने भएको छ । यहाँ ८ वटा कोठामा मतगणनाको तयारी गरिएको नवलपुर क्षेत्र नं. २ का मतदान अधिकृत कमलराज पन्थीले बताए ।
नवलपुरमा प्रतिनिधि सभाका लागि २ र प्रदेश सभाका लागि ४ गरी ६ पदका लागि प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचन हुँदैछ । जसका लागि विभिन्न दल र स्वतन्त्र उम्मेदवार गरी ६८ जना उम्मेदवार चुनावी मैदानमा छन् ।
मतदान स्थलमा मतदान केन्द्र बनाउनेदेखि, मतगणना स्थल निर्माणसम्मको तयारी पुरा भएको छ ।
२ लाख ६० हजार ४ सय ६१ जना मतदाता रहेको पूर्वी नवलपरासीमा ११३ वटा मतदान स्थल र ३ सय २ वटा मतदान केन्द्र रहेका छन् । यहाँ २ हजार ४ सय १६ जना कर्मचारीहरु निर्वाचनका लागि खेटिएको छ भने उत्तिकै संख्यामा सुरक्षाकर्मी पनि परिचालन गरिएको छ ।
नवलपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले नवलपुरका सबै मतदान केन्द्रमा तयारी पुरा भएको र जिल्लामा शान्ति सुरक्षाको वातावरण पनि पूर्ण रुपमा प्रबन्ध गरिएकोले भय रहित वातावरणमा मतदान गर्न आग्रह गरे ।
पूर्वी नवलपरासीमा एकाध ठाउँमा शंकास्पद वस्तु भेटिने बाहेक अरु निर्वाचन विरोधी गतिविधि भएको देखिदैन । नवलपुरमा सुरक्षाका लागि म्यादी प्रहरीदेखि ट्राफिक प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली परिचालन गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले मतदान स्थलमा हुन सक्ने हिंसात्मक गतिविधि रोक्नदेखि मतदान स्थलबाट मतगणना स्थलसम्म सुरक्षित रुपमा मत पेटिकाहरु ल्याउनका लागि सुरक्षा अवस्था तयारी अवस्थामा राखिएको बताए ।

भोलि आइतबार विहान ७ बजेदेखि मतदान शुरु हुँदैछ भने साँझ ५ बजेभित्र मतदान स्थल भित्र प्रवेश गरेकाले मतदान गर्न पाउने प्रबन्ध मिलाइएको छ । नवलपुरमा सुरक्षाको दृष्टिकोणले तुरुन्त थप टोली पठाउन ३० मिनेट बढी लाग्ने अतिसम्बेदनशिल क्षेत्र १३ वटा रहेका छन् ।
४ वटा नगरपालिका र ४ वटा गाउँपालिका रहेको नवलपुरमा राति १२ बजेसम्म सबै मतपेटिका आइपुग्ने र सोही दिनबाट मतगणना शुरु गर्ने गरी तयारी गरिएको छ । नवलपुरमा बढीमा ५ दिन भित्र मतगणना गरिसकिने गरी क्षेत्र नं. १ को ४ र क्षेत्र नं. २ को ४ गरी ८ ठाउँमा एक साथ मतगणना शुरु गरिने तयारी भएको छ । नवलपुरको मतगणना भने कुमारवर्ती बहुमुखी क्याम्पस भवनमा दुवै निर्वाचन क्षेत्रको मतगणना गरिने भएको छ ।
अहिलेसम्म शान्तिपूर्ण गतिविधिका साथ निर्वाचन अगाडि बढेको नवलपुरमा ६५ देखि ७० प्रतिशतसम्म मत खस्ने आंकलन गरिएको छ ।