नवलपुरमा ११ बजेसम्म १० प्रतिशत मत खस्यो, पिठौलीको मतदान केन्द्रमा प्रत्यक्ष र समानुपातिकको मत साटासाट भएपछि पुन मतदान शुरु

रामकुमार श्रेष्ठ –
नवलपुर । पूर्वी नवलपरासीमा विहान ११ बजेसम्म १० प्रतिशत मत खसेको छ ।
जिल्ला निर्वाचन कार्यालय नवलपुरका प्रमुख लालप्रसाद भुसालका अनुसार जिल्लामा सबै ठाउँमा गरी विहान ११ बजेसम्म १० प्रतिशत मत खसेको बताए ।
नवलपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले नवलपुरमा अहिलेसम्म मतदान शान्तिपूर्ण रुपमा भएको बताए ।
पूर्वी नवलपरासीमा २ वटा प्रतिनिधि सभा सदस्य र ४ वटा प्रदेश सभा सदस्यको लागि निर्वाचन हुँदैछ । यहाँ ६८ उम्मेदवारहरु चुनावी प्रतिप्रर्धामा छन् ।
२ लाख ६० हजार ४ सय ६१ जना मतदाता रहेको पूर्वी नवलपरासीमा ११३ वटा मतदान स्थल र ३ सय २ वटा मतदान केन्द्र रहेका छन् । यहाँ २ हजार ४ सय १६ जना कर्मचारीहरु निर्वाचनका लागि खेटिएको छ भने उत्तिकै संख्यामा सुरक्षाकर्मी पनि परिचालन गरिएको छ ।
पूर्वी नवलपरासीमा एकाध ठाउँमा शंकास्पद वस्तु भेटिने बाहेक अरु निर्वाचन विरोधी गतिविधि भएको देखिदैन । नवलपुरमा सुरक्षाका लागि म्यादी प्रहरीदेखि ट्राफिक प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली परिचालन गरिएको छ ।
विहान ७ बजेदेखि मतदान शुरु भएको हो भने साँझ ५ बजेभित्र मतदान स्थल भित्र प्रवेश गरेकाले मतदान गर्न पाउने प्रबन्ध मिलाइएको छ । नवलपुरमा सुरक्षाको दृष्टिकोणले तुरुन्त थप टोली पठाउन ३० मिनेट बढी लाग्ने अतिसम्बेदनशिल क्षेत्र १३ वटा रहेका छन् ।
४ वटा नगरपालिका र ४ वटा गाउँपालिका रहेको नवलपुरमा राति १२ बजेसम्म सबै मतपेटिका आइपुग्ने र सोही दिनबाट मतगणना शुरु गर्ने गरी तयारी गरिएको छ । नवलपुरमा बढीमा ५ दिन भित्र मतगणना गरिसकिने गरी क्षेत्र नं. १ को ४ र क्षेत्र नं. २ को ४ गरी ८ ठाउँमा एक साथ मतगणना शुरु गरिने तयारी भएको छ । नवलपुरको मतगणना भने कुमारवर्ती बहुमुखी क्याम्पस भवनमा दुवै निर्वाचन क्षेत्रको मतगणना गरिने भएको छ ।
अहिलेसम्म शान्तिपूर्ण गतिविधिका साथ निर्वाचन अगाडि बढेको नवलपुरमा ६५ देखि ७० प्रतिशतसम्म मत खस्ने आंकलन गरिएको छ ।
नवलपुरमा सबै मतदान केन्द्रमा अहिलेसम्म शान्तिपूर्ण रुपमा मतदान भईरहेको जानकारी आएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बताए ।