भूमि अधिकारको माग गर्दै कावासोतीमा शान्ति –याली
रामकुमार श्रेष्ठ
नवलपरासी, २७ माघ । भूमि अधिकारको माग गर्दै राष्ट्रिय भूमि अधिकार मञ्च नवलपुरले कावासोतीमा शान्तिपूर्ण र्याली निकालेको छ ।
निर्वाचनमा गरेको बाचा पुरा गर, भूमि अधिकार सुरक्षित गर, भूमिहिन सुकुम्बासीहरुलाई लालपूर्जा दे जस्ता नारा लगाउँदै उनीहरुले र्याली निकालेका हुन् ।
कावासोतीको थकाली चोकबाट शुरु भएको र्याली कावासोती ९ को मनकामना समुदायिक वनको सभा हलमा आएर जिल्ला अधिवेशनमा परिणत भएको थियो ।
राष्ट्रिय भूमि अधिकार मञ्च नवलपुरका अध्यक्ष मनरुपा कुमालको अध्यक्षतामा भएको दोस्रो जिल्ला अधिवेशनका नेपाली काँग्रेस नवलपुरका जिल्ला सभापति एवम् गण्डकी प्रदेश सांसद महेन्द्रध्वज जिसीको प्रमुख अतिथ्यतामा भएको थियो ।

कार्यक्रममा प्रदेश सभा सदस्य जिसीले भूमिहिनको समस्या समाधानका लागि राज्य जिम्मेवार भएर लाग्नु पर्नेमा जोड दिए ।
त्यसैगरी भूमि आयोग नवलपुरका संयोजक तारापति खरेलले भूमि आयोग गठन भए पनि स्थानीय सरकारको अनिर्णयका कारण आफूहरुले काम गर्न नपाएको बताए ।
कार्यक्रममा नवलपुरका भूमिहिनहरुको सहभागिता रहेको थियो । अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै सकिने छ । नवलपुरका ८ पालिकामा गरी झण्डै ८० हजार भूमिहिन सुकुम्बासी, अव्यवस्थित बसोबासी, दलित सुकुम्बासी रहेको तथ्यांक नवलपुरका स्थानीय तहले यस अघि संकलन गरेको तथ्यांकमा देखिएको छ ।





