राष्ट्रिय सेवादलबाट १७ औं ब्याज सिनियर डिभिजन एनसीसी चौथो चरणको दीक्षान्त समारोह

रामकुमार श्रेष्ठ —
नवलपुर । पूर्वी नवलपरासीको कावासोतीमा रहेको राष्ट्रिय सेवा दल मध्य तालिम केन्द्र शिक्षालयमा सञ्चालित १७ औं ब्याज सिनिएर डिभिजन एनसीसी तालिममा दिक्षित भएका ५ सय ६३ जना विद्यार्थीलाई शुक्रबार दिक्षित गरिएको छ ।
विभिन्न जिल्लाका १६ वटा विद्यालयका ११ र १२ कक्षामा अध्ययनरत २ सय ८३ जना छात्रा र २ सय ८० जना छात्र गरी ५ सय ६३ जनालाई शुक्रबार दिक्षित गरि विदाई गरिएको हो ।
दिक्षान्त समारोहमा नवलपुरका सरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधि, एनसीसीको केन्द्रिय प्रतिनिधि र प्रदेश प्रतिनिधि, विद्यायलका प्रधानाध्यापक तथा शिक्षक, स्थानीय समाजसेवी लगायतको सहभागिता रहेको थियो । सहभागी विद्यार्थीहरुलाई १ सय दिन तालिम प्रदान गरिएको थियो ।
शुक्रबार भएको दिक्षान्त समारोहमा सहभागी विद्यार्थीहरुले विभिन्न खाले मार्चपास गरेका थिए भने विभिन्न सांस्कृतिक कार्यक्रम पनि प्रदर्शन गरिएको थियो ।
दिक्षान्त समारोहमा राष्ट्रिय सेवा दलका कार्यकारी महानिर्देशक सुरेश कुमार कार्कीले दिक्षित विद्यार्थीहरुलाई प्रमाण पत्र र विभिन्न प्रतियोगितामा विजेता विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको थियो ।









त्यसैगरी विहीबार साँझ तालिम हलमा सहभागी विद्यालयका विद्यार्थीहरुबीच सांस्कृतिक कार्यक्रम गरिएको थियो । उक्त कार्यक्रममा नवलपुरका जिल्ला समन्वय समितिका प्रमुख बाबुराम विक, नवलपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक लगायतको सहभागिता रहेको थियो ।