बुटवल नारायणगढ फोर लेन सडक निर्माणमा २६ प्रतिशत प्रगति

पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत बुटवल नारायणगढ फोर लेन सडक निर्माणमा २६ प्रतिशत प्रगति हासिल भएको छ ।
कावासोतीमा भएको कार्यालय प्रमुखहरूको एक बैठकमा सडक आयोजनाका इन्जिनियर धिरज ढकालले सो जानकारी दिए ।
राष्ट्रिय गौरवको सडक निर्माणको ठेक्का पाएको चिनिया कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले थप गरिएको परीक्षण अवधिको करिब ४ महिनामा कार्य प्रगति मासिक २ प्रतिसतले वृद्धि गर्दै लगेको छ ।
चाइना स्टेटले गत साउन २२ भित्र काम सम्पन्न गर्ने गरी आव ०७५÷७६ मा फोरलेन सडक निर्माणको ठेक्का सम्हालेको थियो । तोकिएको समयमा काम नसके पछि कम्पनीलाई सन्तोष जनक कार्य प्रगति देखाउने सर्तमा ३ सय ८४ दिनको समय सीमा पुनः थप गरिएको हो ।
सडक निर्माणका क्रममा फोरलेन सडक अन्तर्गतका १२ ठूला पुल मध्ये सवैमा फाउन्डेसन , फाइल फाउन्डेसनको काम सकिनै लागेको,सव स्टक्चर तथा सुपर स्टक्चरको काम भई रहेको बताइएको छ ।
यसै गरी माइनर ब्रिज २२ मध्ये १५ वटा सकिएको र ५ पुलमा निर्माण कार्य भई रहेको इन्जिनियर ढकालले बताए ।
कल्भर्टहरूमा २ सय १५ मध्ये ९३ कल्भर्ट निर्माणको काम सकिनुका साथै ४२ वटा निर्माणाधीन अवस्थामा रहेको बताइन्छ ।
यसका साथै हाल सडकको कतिपय ठाउँमा माटो पुर्ने, सम्म्याउने तथा मिलाउने काम भएको लोकाहा पुल देखि डण्डा पश्चिमको पथ्थर खोला सम्मको करिब ८ किमी क्षेत्रमा बेस तथा सव बेसका काम भइरहेको ढकालले बताउनु भयो ।
बताए अनुसार निर्माण कार्यमा आशातीत प्रगति नदेखिए पनि सडकमा निरन्तर काम भइरहेको र हाल माटो तथा निर्माण सामाग्री लगायत कुनै समस्या तथा बाधा अवरोध रहेको छैन ।
यद्यपि सडक निर्माणको गति देखेर स्थानीयहरू अत्ताल्लिएकाछन् । विभिन्न बहाना बनाई पहिलो पटकको म्याद गुजारेको सडक निर्माण कम्पनीले उहीँ कछुवा गति जारी राखे फोरलेन सडक सम्पन्न हुन झण्डै थप ३ वर्ष लाग्ने जानकारहरू बताउँछन् ।
सहरी क्षेत्रमा ६ लेन,वन तथा खाली ठाउँमा ४ लेन र दाउन्ने पहाडमा ३ लेन रहने गरी डिजाइन भएको यो सडकको दाउन्ने क्षेत्रमा भित्तो खोतलेर सडक चौडा पार्ने काम भइरहेको छ ।
यसै बीच नारायणगडदेखि दाउन्ने सम्म करिब ६४ किमी सडक समयमा नबन्दा स्थानीय बजार तथा सडक छेउका बासिन्दा र यात्रुहरू विगत ४ वर्ष देखि धुलैधुलोले पिरोलिएकाछन् ।
निर्माण कम्पनीले पुन ठेक्का नपाउँदा सम्म परीक्षण र कार्य प्रगति देखाउने बहानामा सडकमा पानी छर्केर धुलो हटाए पनि हाल पानी हाल्ने काम सुस्ताएको छ ।
सडकमा समय समयमा पानी नहाल्दा धुलो उडेर सडकमा हिढ्दै गरेका सवारी साधन एक अर्को बीच नै नदेखिने स्थिति बनेको चालकहरू बताउँछन् ।