१० वटा जटायुलाई जंगलमा छाडियो
राजु सुवेदी —
नवलपरासी । पूर्वी नवलपरासी कावासोती स्थित जटायु रेष्टुरेन्टको सब रिलिज एभिएरीमा राखिएका १० वटा दुर्लभ डङ्गर प्रजातिका गिद्दलाई प्राकृतिक बासस्थानमा छोडिएको छ ।
चितवन राष्ट्रिय निकुञ्जको कसरा प्रजनन् केन्द्रमा हुर्किएका गिद्दलाई गत कार्तिकमा नवलपरासी स्थित जटायु रेष्टुरेन्टमा ल्याइएको थियो । तिनै दुर्लभ जातका डङ्गर प्रजातिको गिद्दलाई शनिबार प्राकृतिक बासस्थानमा छोडिएको संरक्षणविद तथा जटायु रेष्टुरेन्ट व्यवस्थापन समितिका अध्यक्ष डिबि चौधरीले जानकारी दिए ।

गिद्दहरुलाई प्राकृतकि बासस्थानमा छोड्नु अघि उनीहरुको स्वास्थ्य परीक्षण समेत गरिएको थियो ।
जङ्गलमा छाडएिका गिद्दको निगरानी गर्न ढाडमा सेटलाइट ट्याग र खुट्टामा गणनाको लागि सहज हुने नम्बर टयाग लगाएर छाडिएको चौधरीले बताए ।
यसरी ट्याग लगाएर छाडिएका गिद्दहरुको दैनिक रुपमा निगरानी गरिने भएकाले उनीहरु उडेर कहाँ पुगे या कति दुरि पार गरेका छन भन्ने तथ्यांक आउने चौधरीले जानकारी गराए ।
चौधरीका अनुसार सन् २०१७ देखि २०२३ सम्म निकुञ्जको गिद्द प्रजनन केन्द्र कसरामा हुर्काइएका ६९ गिद्द र जंगली गिद्द ७० वटा गरेर १३९ वटा गिद्दलाई सेटलाइट ट्याग लगाएर प्राकृतिक बासस्थानमा छाडिएको छ ।
नेपालमा पाइने गिद्दमध्ये जटायु रेष्टुरेण्ट पिठौलीमा आठ प्रजातिको गिद्दको बासस्थान रहेको छ । नेपालभर करिब १५ हजारको सङ्ख्यामा गिद्द रहेको अनुमान गरिन्छ ।
