दुई मन्त्रीले गरे बुटवल–नारायणगढ सडक अनुगमन, काममा गति दिन निर्देशन
रामकुमार श्रेष्ठ —
नवलपरासी । बुटवल–नारायणगढ सडक खण्डको सोमबार दुई मन्त्रीले अनुमगन गरेका छन् ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले संयुक्त रुपमा सोमबार सडकको अनुगमन गरेका हुन् । टोलीले गैडाकोटदेखि बुटवलसम्म सडक अनुमगन गरेका थिए ।
अनुगमनको क्रममा मन्त्रीद्वयले सडक विस्तारको काममा गति बढाउन निर्देशन दिएका थिए । मन्त्री श्रेष्ठले कामको गति सन्तोषजनक नरहेको भन्दै कामको गति बढाउन र गुणस्तरमा ध्यान दिन निर्देशन दिएका थिए। मन्त्री श्रेष्ठले सडक विस्तारका क्रममा प्राविधिकहरु राखेर कामको अनुगमन गर्न पनि निर्देशन दिएको थियो ।
त्यसैगरी भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले तोकिएको समय सीमा भित्र काम सक्ने गरी काम गर्न निर्देशन दिएको छ । अनुगमनका क्रममा मन्त्रीहरुसँग रहेका नवलपुरका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालका अनुसार गुणस्तर, कामको गति, स्थानीयको गुनासो नआउने गरी काम गर्न निर्देशन दिइएको थियो ।
गृहमन्त्री श्रेष्ठ यातायात मन्त्री रहँदा पनि यस अघि यस सडकको अनुगमन गरी कामको गति बढाउन निर्देशन दिएका थिए । पूर्वपश्चिम राजमार्ग निर्माणको ४ बर्ष वितिसक्दा पनि जम्मा २८ देखि ३० प्रतिशत मात्र काम सकिएको प्रमुख जिल्ला अधिकारी लम्सालले बताए । सडक विस्तारको जिम्मा चाइना स्टेन कम्पनीले लिएको छ ।
४ महिना पछि अर्थात आगमी अष्गट महिनामा कम्पनीसँगको सम्झौता अवधि दोस्रो पटक सकिदैछ। सम्झौता अवधि सकिने बेलासम्म सन्तोषजनक काम नभएर म्याद थप गर्न नसकिने मन्त्री ज्वालाले चेतावनी दिएका थिए । मन्त्री अनुगमनमा आउने भनेपछि सोमबार सडकमा खाल्डाखुल्डी पुर्ने, पानी हाल्ने लगायतका काम समेत गरिएको थियो ।



