सहिद स्मृति माविले लिएन अपाङ्गता भएका बालबालिकालाई भर्ना
रामकुमार श्रेष्ठ –
कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा रहेको सहिद स्मृति माध्यमिक विद्यालयले अपाङ्गता भएका बालबालिकालाई भर्ना नलिएको पाइएको छ । मौलाकालिका अपाङ्गता सेवा संस्था कावासोती ८ मा रहेका अपाङ्ग बालबालिका विगत ५ बर्षदेखि सहिद स्मृति माविमा अध्ययन गर्दै आएको भए पनि यस बर्षदेखि भर्ना नलिएको हो ।
मौलाकालिका अपाङ्गता सेवा संस्थामा अहिले १४ जना बालबालिकाहरु रहेका छन् । मौलाकालिका अपाङ्गता सेवा संस्थामा बसेर अध्ययन गरेका २ जना बालबालिकाले यस बर्ष मात्रै सहिद स्मृति माविबाट एसईई दिएका छन् ।
मौलाकालिका अपाङ्ग सेवा संस्थाका अध्यक्ष कृष्णकुमार रोकाले यस बर्षदेखि सहिद स्मृति माविले आफ्नो संस्थामा बस्दै आएका बालबालिकालाई भर्ना लिन नमाने पछि बालबालिकाहरु पढाईबाट बन्चित हुनु पर्ने अवस्था आएको बताए ।

उनका अनुसार सहिद स्मृति माविका प्रधानाध्यापक पुरुषोत्तम भुर्तेलले कावासोतीका अन्य विद्यालयले भर्ना नलिएका बालबालिकालाई आफूहरुले विगत ५ बर्षदेखि पढाउँदै आएको भए पनि यस बर्षदेखि पढाउन नसकिने बताएका हुन् । संस्थाका अध्यक्ष रोकाले भने – ‘विद्यालयलका प्रधानाध्यापकले आफूहरुलाई अपाड्डता भएका बालबालिकालाई पढाए वापत कहि कतैबाटै सहयोग नपाउने भए पढाउन सक्दैनौ भने अनि भर्ना लिन मानेनन् ।’
मौलाकालिका अपाङ्ग सेवा संस्थामा शारिरिक रुपमा हिडडुल गर्न नसक्ने बोल्ने र सुन्न भने सक्ने खालका १४ जना बालबालिकाहरु रहेका छन्। विद्यालयका प्रधानाध्यापक पुरुषोत्तम भुर्तेलले भने विद्यालयसँग उक्त बालबालिकाहरुलाई छुट्टै कक्षा कोठामा राखेर पढाउन सक्ने र उनीहरुको स्याहार सुसार गर्ने जनशक्ति नभएका कारण आफूहरुले भर्ना नलिएको बताए । आफ्नो स्याहार आफै गर्न सक्ने खालका अपाड्डता भएका बालबालिकाहरुलाई भने आफूहरुले अहिले पनि पढाई रहेको उनको दावी छ ।
विद्यालय व्यवस्थापन समितिले यस्ता बालबालिकालाई भर्ना नलिने निर्णय समेत गरेको छ।
लामो समयदेखि विद्यालय व्यवस्थापन समिति गठन, प्रधानाध्यापक नियुक्ति लगायतका विषयमा विवादमा आइरहेको यस विद्यालयमा अहिले प्राविधिक शिक्षा अन्तरगत कृषितर्फ पनि अध्यापन हुँदै आएको छ। कृषितर्फका शिक्षकहरुले यहाँ ११ महिनादेखि तलब पाउन सकेका छैनन्।
कावासोती नगरपालिकाका नगर शिक्षा अधिकारी क्षेत्रबहादुर भण्डारीले अपाङ्गता भएका होस वा सवालङ्ग जुनसुकै बालबालिकालाई पनि आर्थिक समस्या देखाएर बालबालिकालाई विद्यालयमा भर्ना गराउनबाट बञ्चित गराउन नपाइने बताए। उनले भने – ‘हामीले अपाङ्गता भएका बालबालिकालाई अध्यापन गराए वापत यस्ता बालबालिका भएका विद्यालयमा थप छात्रवृत्ति समेत पठाउने गरेका छौं ।’
त्यसो त नवलपुरमा श्रवण क्षमता नभएका कान नसुन्ने र बोल्न नसक्नेलाई बालबालिकालाई र बहुअपाड्डता भएका बालबालिकालाई अध्ययन गराउन दुई वटा विशेष कक्षा सञ्चालन गरेको छ। तर, पनि नवलपुरमा विद्यालय गएर अध्ययन गर्न सक्ने अपाड्डता भएका कतिपय बालबालिका अझै विद्यालयलको पहुचबाट बाहिरै रहेका छन् ।