जनजाति महासंघ मध्यविन्दुमा सर्वसम्मत नयाँ समिति गठन, अध्यक्षमा चौधरी

नवलपुर । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाको आदिवासी जनजाति महासंघ नगर समन्वय परिषदको दोस्रो अधिवेशनले सर्वसम्मत रुपमा नयाँ समिति चयन गरेको छ ।
समितिको अध्यक्षमा पदम नारायण चौधरी सर्वसम्मत निर्वाचित भएका छन् । त्यसैगरी बरिष्ठ उपाध्यक्षमा पिराम बहादुर रास मगर, उपाध्यक्षमा झविन्द्र दराई, सचिवमा श्यामबहादुर कुमाल, सहसचिवमा भिमबहादुर बोटे र कोषाध्यक्षमा माया घले गुरुङ सर्वसम्मत निर्वाचित भएका हुन् ।
८ वटा जातीय घटक रहेको मध्यविन्दुमा नेवा देव दबु र तामाङ घेदुङबाट पछि २ जना सदस्य मनोनियत गरिने भएको निर्वाचन मण्डलका संयोजक गणेशमान महतोले बताए ।
सोमबार र मंगलबार गरी २ दिनसम्म चलेको अधिवेशनले मंगलबार अबेर मात्र सर्वसम्मत नयाँ समिति चयन गरेको हो ।
नवनिर्वाचित समितिलाई थारु कल्याणकारिणी सभा नवलपुरका सभापति रामप्रसाद महतो, मध्यविन्दु नगरपालिकाका पूर्व उपप्रमुख ओमकुरमारी महतो, निर्वाचित मण्डलका सदस्य नन्दा गुरुङ, आदिवासी जनजाति महासंघ मध्यविन्दु समन्वय परिषदका पूर्व अध्यक्ष गान्धीबहादुर कुमाल, पूर्व सचिव पिताम्बर महतो, पूर्व कोषाध्यक्ष विष्णु थापा मगर, पूर्व सल्लाहाकार संयोजक विष्णु गुरुङले शुभकामना व्यक्त गरेका थिए ।
यस अघि सोमबार भएको उद्घाटन सत्रमा मध्यविन्दु नगरपालिकाका नगरप्रमुख भिमलाल अधिकारी, नेपाल आदिवासी जनजाति महासंघ नवलपुरका अध्यक्ष रामकुमार श्रेष्ठ, थारुकल्याणकारिणी सभा नवलपुरका पूर्व सभापति गणेशमान महतो, रामप्रसाद महतो, ओमकुमारी महतो लगायतले मन्तव्य राखेका थिए ।
गान्धीबहादुर कुमालको अध्यक्षतामा भएको उद्घाटन शत्रको सञ्चालन सचिव पिताम्बर महतोको सञ्चालनमा भएको थियो ।
