कोदोको पिज्जा यसरी बनाउनुस्
कोदोको पिठो, शाकाहारी वा मांशाहारी छोइला र नेपाली चिज हालेर तयार गरिने नेपाली पिज्जा धेरैको रोजाइमा पर्ने गरेको छ । नेवारी छोइला टपिङ गरेर यो पिज्जा सर्भ गर्ने गरिन्छ ।
सामग्री : कोदोको पिठो सात सय ग्राम, मैदा ३०० ग्राम, इस्ट १० ग्राम, नुन १० ग्राम, हल्का मनतातो पानी आधा लिटर, चिनी डेढ चम्चा, तोरीको तेल दुई चम्चा, नेपाली याक या कान्चन चिज ३५० ग्राम, नेपाली स्वादको गोलभेँडाको अचार आवश्यकताअनुसार, धनियाँ सात–आठ पत्ता । माथिका सम्पूर्ण सामग्री हालेर पिज्जाको पिठो मुछ्नुस् र तीनदेखि चार घन्टा रुम टेम्प्रेचरमा छोपेर राख्नुस् ।
मुछेको पिठो केही मात्रामा फुलेपछि १०० ग्रामका डल्ला बनाउनुस् र बेलेर केही बेर ओभन या प्यानमा पकाउनुस् । त्यसपछि नेपाली स्वादको गोलभेँडाको अचार हालेर तयारी अवस्थामा राखिएको मोलेको च्याउ छोइला या चिकेन छोइला टपिङ गरेर माथिबाट नेपाली याक चिज या कन्चन चिजले ढाकेर फेरि ओभनमा पकाउनुस् ।
यदि तपाईं प्यानमा पिज्जा पकाउँदै हुनुहुन्छ भने ननस्टिक प्यानमा मधुरो आच गरी छोपेर पकाउन सक्नुहुन्छ । पिज्जा पाकेपछि धनियाँको पत्ता छर्दिनुस् अनि काटेर अन्तमा पिरो नेपाली गोलभेँडा अचारसँगै सर्भ गर्न सक्नुहुन्छ ।
यदि तपाईंलाई भारतीय स्वादमा खान इच्छा लाग्छ भने तन्दुरी चिकेन क्यातेर आधा पाकेको डोमा हाली पकाएर चाट मसला हालेर पुदिनाको चटनीसँग सर्भ गर्न सकिन्छ । यसरी बनेको पिज्जालाई तन्दुरी पिज्जा नाम दिइएको छ ।
यस्ता विभिन्न मौलिक स्वादमा बन्ने पिज्जा अहिले काठमाडौंका राम्रा रेस्टुरेन्ट र होटेलको मेनुमा समावेश भइसकेका छन् । मैदाको पिठोको दाँजोमा कोदोको पिठो निकै स्वास्थ्यवद्र्धक हुन्छ र स्वाद पनि मिठो हुने भएकाले यस पिज्जाको लोकप्रियता बढ्दै गएको छ ।