नवलपरासीमा पत्रकार महासंघले ४८ जनाको सदस्य काट्यो

परासी, २३ जेठ – नेपाल पत्रकार महासंघ जिल्ला शाखा नवलपरासीले ३८ जना सदस्यको मात्र महासंघको सदस्य नवीकरणका लागि प्रदेशमा सिफारिस गरेको छ ।
कुल ८६ जना सदस्य रहेको महासंघमा ४८ जना सदस्य नवीकरण मापदण्डमा परेका छैनन् । पत्रकार महासंघ केन्द्रीय समितिले सदस्यता शुद्धीकरणका लागि देशभर अभियान चलाएको छ ।
सोही अभियानअनुसार महासंघको जिल्ला शाखाले शुद्धीकरण समिति गठन गरी सबै सदस्यको पत्रकारिता क्षेत्रमा लागेको व्यक्तिगत विवरण संकलन गरेको थियो ।
महासंघ जिल्ला शाखाका अध्यक्ष हरि शर्माको अध्यक्षतामा मंगलबार परासीमा बसेको बैठकले उक्त सिफारिस गरिएको शाखा सचिव राजकुमार रेश्मीले जानकारी दिए ।
केन्द्रीय समितिको सदस्यता शुद्धीकरण मापदण्ड र निर्देशिका तथा समितिको प्रतिवेदनका आधारमा नवीकरणका लागि सिफारिस गरिएको रेश्मीले जानकारी दिए ।
नवीकरण हुन नसकेका सदस्यहरुमध्ये सदस्यता त्यागको स्वघोषणा गर्ने १८ जना, सरकारीसहित अन्य शिक्षण पेशामा आवद्ध ५, बैंक, वित्तिय, सहकारी, फाइनाइन्स, गैरसरकारी संस्था, व्यवस्थापक र अन्य संघसंस्थामा कार्यरत ११, विदेशमा रहेका ३, नवीकरणका लागि फारम नबुझाएका र क्रियाशिल नरहेका ११ जना गरी कुल ४८ जना रहेको महासंघले जनाएको छ ।