मध्यविन्दुमा आदिवासी जनजातिका लागि क्षमता विकास तथा सीपमूलक तालिम


नवलपुर । नेपाल आदिवासी जनजाति महासंघ मध्यविन्दु नगर परिषदको आयोजना र मध्यविन्दु नगरपालिकाको सहयोगमा मध्यविन्दु नगरपालिकाका आदिवासी जनजातिहरुका लागि क्षमता अभिवृद्धि तथा सीपमुलक तालिम शुरु गरिएको छ ।



६ दिनसम्म चल्ने तालिम १५ वटा वडालाई ३ स्थालनमा विभाजन गरी ५÷५ वटा वडाका दरले ३ स्थालनमा सञ्चालन गरिएको छ । तालिम चोरमारा, कोल्हुवा र अरुणखोलामा गरी ३ स्थालनमा सञ्चालन भएको नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद मध्यविन्दुका वरिष्ठ उपाध्यक्ष पिराम बहादुर रास मगरले बताए ।

तालिममा ३ स्थानमा गरी १ सय ५० भन्दा बढीको सहभागिता रहेको अध्यक्ष पदम नारायण चौधरीले बताए । तालिममा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद नवलपुरका अध्यक्ष रामकुमार श्रेष्ठ, पत्रकार कमला राना, चन्दा गुरुङ, आदिवासी जनजातिका अगुवा राम बहादुर तामाङ, प्रितम भुजेल, हरिमाया थनेत, ज्ञानबहादुर बोटे लगायतले प्रशिक्षण दिएका छन् ।




तालिममा उद्घोषण कला, नेतृत्व विकास, क्षमता अभिवृद्धि, आदिवासी जनजातिका अधिकार र कानुनी प्रावधान लगायतका विषयमा प्रशिक्षण प्रदान गरिने सचिव श्याम कुमालले बताए ।

तालिमको चोरमारामा नगर उपप्रमुख पूर्णकला चौधरीले र कोल्हुवामा नगर प्रमुख भिमलाल अधिकारीले उद्घाटन गरेका थिए । तालिमको उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख अधिकारीले आदिवासी जनजातिहरुको भाषा धर्म संस्कृतिको रक्षा गर्न सके मात्र देशको विकास हुनेमा जोड दिए । त्यसैगरी हरेक क्षेत्रमा नेतृत्वदायी भूमिका विकास गर्नका लागि बोल्ने कलाका विकास हुनु अत्यावश्यक रहेको अधिकारीले जोड दिए ।

तालिम चोरमारामा २१ गतेदेखि, कोल्हुवामा २२ गतेदेखि र अरुणखोलामा २३ गतेदेखि शुरु भएको हो ।



सम्बन्धित
Loading...