पूर्वराज्यमन्त्री महेश चौधरीको निधन
२४ जेठ, काठमाडौं ।
पूर्वराज्यमन्त्री महेश चौधरीको निधन भएको छ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा आज दिउँसो चौधरीको निधन भएको हो ।
उनी हर्नियाबाट पीडित थिए । काठमाडौंमा हालै शल्यक्रिया गरेर दाङ फर्किएका उनी स्वास्थ्यमा पुनः समस्या देखिएपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएका थिए ।
नेकपा एमालेका नेतासमेत रहेका चौधरी २०४८ सालमा राष्ट्रिय सभा सदस्य र २०५४ सालमा स्थानीय विकास राज्यमन्त्री बनेका थिए । उनले वि.सं २०२८ सालमा दाङबाट थारू भाषाको साहित्यिक पत्रिका ‘गोचाली’ निकालेका थिए ।
उनले ‘द हिडनट्रेजर अफ द लो ल्याण्ड नेपाल (भाग-१ र 2) ‘, ‘नेपालको तराई तथा यसका भूमिपुत्रहरू’, स्थवीरहरुको प्रचीन इतिहास र संस्कृति, ‘थारू भाषाको पहिलो गीति नाटक “छारा”‘, थारू भाषामा लिरौसी व्याकरण, लगायत थुप्रै पुस्तक लेखेका छन् ।