गर्मी छल्न पौडी खेल्दा नवलपुरमा ५ जनाको निधन




रामकुमार श्रेष्ठ –

नवलपरासी । पूर्वी नवलपरासीमा अत्यधिक गर्मी बढे पछि गर्मी छल्न नदी, खोलामा पौडी खेल्न, नुहाउँन जाँदा डुबेर ५ जनाको निधन भएको छ ।




जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीका अनुसार कालीगण्डकी नदीमा २ जना, अरुणखोलामा २ जना र ज्यामिरे खोलामा १ जना गरी ५ जनाको निधन भएको हो । ५ जना मध्ये २ जना बालबालिका र ३ जना युवा रहेका छन् ।

नवलपुरमा अत्यधिक गर्मी बढेपछि अहिले नारायणी नदी, कालीगण्डकी नदीका साथै साना ठूला खोलामा नुहाउन तथा पौडी खेल्न जानेको अत्यधिक भिड लागेको छ ।

मंगलबार साँझ मध्यविन्दु नगरपालिका १० अरुण खोलाको पुल मुनी पौडी खेल्ने क्रममा डुबेर मध्यविन्दु १० टाँडी निवासी विमल सिंह खान्गाका छोरा १३ बर्षीय महेश खान्गाको निधन भएको छ ।

५ बजेतिर पौडी खेल्ने क्रममा डुबेर वेपत्ता भएका बालकको १० मिनेट भित्र स्थानीय र प्रहरीले उद्दार गरेर उपचारका लागि मध्यविन्दु जिल्ला अस्पताल ल्याइएको भए पनि उनलाई अस्पतालले साँझ ६ बजेतिर मृत घोषणा गरेको थियो ।

त्यसैगरी आइतबार नवलपुरकै विनयी त्रिवेणी गाउँपालिका २ निवासी १३ बर्षीया बालिका जुनु खड्का ज्यामिरे खोलामा डुबेर निधन भएको छ । घर नजिकै घाँस काट्न गएकी जुनु घाँस काटेर सकि ज्यामिरे खोलामा गर्मी छल्न पौडी खेल्ने क्रममा डुबेर निधन भएको थियो ।

त्यसैगरी शनिबार मध्यविन्दु नगरपालिका १४ बतासा स्थित अरुणखोलाको मुखे ढुंगा पानीको रहमा पौडी खेल्न गएका एक जना शिक्षकको डुबेर निधन भएको छ । मध्यविन्दु १० जनता माविका ७ जना शिक्षक पौडी खेल्न गएकोमा देवचुली १५ प्रगतिनगर बस्ने ३० बर्षीय कृष्ण सुवेदीको निधन भएको हो ।

यता शुक्रबार गैडाकोट ३ केलादी स्थित काली गण्डकी नदीमा नुहाउन गएका चितवनको रत्नगर २ टाँडी निवासी २४ बर्षीय सुरज सुवेदी र नवलपुरका गैडाकोट २ निवासी २५ बर्षीय रमेश चालिसेको पनि डुबेर मृत्यु भएको प्रहरी उपरीक्षक तिवारीले बताए ।

गर्मीका कारण विद्यालय विदा हुँदा बालबालिकाहरु पौडी खेल्न जाने क्रम बढेको र अभिभावकले बालबालिकाको ध्यान दिन विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष धनश्याम गिरीले आग्रह गरेका छन् ।

यसैबीच जिल्ला प्रहरी कार्यालय नवलपुरले पालिकाहरुलाई सूचना नै पठाएर बालबालिकालाई दिउँसोको समयमा कक्षा सञ्चालन गर्न आग्रह गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक तिवारीले भने – विहानको समय विद्यालय खोल्दा दिनभर बालबालिकालाई खेल्न फुर्सन हुने र सो क्रममा नजिकका खोला, नदी नालामा पौडिखेल्न जाने क्रम बढेकोले त्यसलाई नियन्त्रण गर्न आवश्यक देखिएको छ ।



सम्बन्धित
Loading...