सार्वजनिक जग्गामा भूमाफियाको राजः विपन्न समुदायलाई झुक्याउँदै बेच्दै, न पास न बास




रामकुमार श्रेष्ठ
नवलपरासी । नवलपुरको विनयी त्रिवेणी गाउँपालका वडा नम्बर ४ को सार्वजनिक जग्गा भूमाफियाले कब्जा गरेका छन् । वडाको भालुचिरा चौर भन्ने ठाउँको २०० विगाहा सार्वजनिक जग्गा भूमाफियाले कब्जा गरेको छ ।

भूमाफियाले २०० विगाहामध्य २० विगाहा बेचविखन र खनजोत गरिर विपन्न समुदायसँग प्रतिकठ्ठा डेढ लाख रुपैयाँका दरले बेचेर मोटो रकम हिनामिना गरेको जग्गा संरक्षण संघर्ष समितिले जनाएको छ ।




स्थानीय टेकप्रसाद श्रेष्ठको अगुवाईमा केही व्यक्ति मिलेर सार्वजनिक जग्गा खनजोत गरेर कब्जा गर्ने, सोझा जनतालाई बेच्ने काम गरेको भन्दै स्थानीयले संघर्ष समिति बनाएर आन्दोलित भएका छन् । संघर्ष समितिले अतिक्रमित क्षेत्रमा पत्रकार सम्मेलन गरी भूमाफियालाई जग्गा कब्जा गर्नबाट जोगाउन उनीहरुले स्थानीय प्रशासन र भूमि आयोगलाई आग्रह गरेका छन् ।

राजनीतिक पहुँच देखाएर सार्वजनिक जग्गा कब्जा गर्न टेकप्रसाद श्रेष्ठ सक्रिय भएर लागेको भन्दै जग्दा जोगाउन संघर्ष समिति बनाएर आन्दोलिन हुनु परेको स्थानीय कांग्रेस नेता पवित्र जिसीले जानकारी दिए । टेक प्रसाद पनि कांग्रेसकै स्थानीय नेता हुन् ।

टेकप्रसाद यसअघि सुकुम्बासी आयोगको सदस्य समेत भएका थिए । आफू सदस्य भएको बेला शक्ति र सत्ताको आडमा सार्वजनिक जग्गा कब्जा गरेको स्थानीय शमशेर केसीले बताए । कांग्रेस नेतृत्वको सरकार भएका बेला भूमि आयोगको सदस्य भएका श्रेष्ठले त्यती बेला फेरी पनि काग्रेसकै सरकार बन्ने र फेरी आयोगको सदस्य भएर जग्गालाई आफ्नो नाममा बैधानिकता दिने खुल्ला चुनौती दिदंै हिड्ने गरेको स्थानीय कर्णबहादुर सुनारीले बताए ।

संघर्ष समितिका संयोजक मणिक राज खतिवडाले जग्गा हडप्न विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष साहिल श्रेष्ठका बुवाको पनि संलग्नता रहेको दाबी गरे । वडा अध्यक्ष श्रेष्ठसँग यस विषयमा जानकारी लिन पटक पटक सम्पर्क गर्दा उनले फोन उठाएनन् ।

भूमाफियाले पूर्जा नै नभएको जग्गा स्थानीय सोझासादा जनतालाई झुक्याएर लालपूर्जा छ पछि पास गरिदिन्छु भन्दै बेचेको पनि खुलेको छ । प्रति कठ्ठा डेढ लाख रुपैयाँमा बेचेर गाउँका केही मानिसलाई साछी राखेर लिखत समेत गरेका छन् ।

टेक प्रसादले अमेरिकामा रहेको एक जना व्यक्तिको नाममा जग्गाधनी लालपूर्जा छ आफूले उ आएपछि पास गरिदिने भन्दै सूर्य विक लगायत थुप्रैलाई एउटै कित्ता नम्बर जग्गा देखाएर जग्गा बेचेका छन् । सूर्य विकले आफ्नो थोरै लालपूर्जा भएको जग्गा उनलाई दिएर उक्त जग्गा लिएको बताए । विकले भने – म सोझो मान्छे, पछि लालपूर्जा पाइन्छ भने धेरै जग्गा भन्दा ५ कठ्ठा भए खेती गरेर पनि खान हुन्छ भने सट्टापट्टा गरिहाले अहिले त फसिएक भन्ने डर लागेको छ । उनको एउटै भनाइ छ – समाजले कि मेरा पुरा जग्गा फिर्ता दिलाइदिन पहल गरिदिन पर्यो यो जग्गाको लालपूर्जा दिलाउन पहल गरिदिन पर्यो नत्र मेरो घरबास उठिबास हुने भो ।

सारदा गुरुङले भोगबहादुर विकबाट डेढ लाखमा एक कठ्ठा जग्गा किनेर घर पनि बनाइन् । तर उनलाई आफूले बनाएको घरमा बस्न पनि सकस भएको छ । स्थानीयले सार्वजनिक जग्गा हो किन किनेको भने पछि आफू छाँगाबाट खसेको जस्तो भएको बताइन् । उनले पत्रकार सम्मेलनमा भनिन् – मलाई जग्गाको बारेमा केही थाहा लिएन । मसँग राम्रा जग्गा किन्न धेरै पैसा पनि थिएन । मसँग भएको डेढ लाख रुपैयाँले बस्ने बास भए पनि हुन्छ भनेर जग्गा किने अहिले निल्नु न ओकल्नु भएको छ ।’ आफूले भोगबहादुर विकलाई सोध्दा जसरी पनि पास गरेर दिन्छु भनेर आश्वासन मात्र दिने गरेको बताइन् ।
उनलाई पनि जग्गाधनी अमेरिकामा रहेको भनी झुक्काएर जग्गा बेचियो । कित्ता नम्बर उनको र सूर्य विकको पनि एउटै ९६६० थियो । तर ४ वर्ष बितिसक्दा पनि जग्गा पास भएर सारदाको नाममा आएको छैन । भोगबहादुरले पैसा पनि दिन्नन् । जग्गा पास पनि हुन्न ।

सार्वजनिक जग्गा हडप्न थालिएपछि स्थानीयले प्रशासनलाई पनि जानकारी गराएको तर जिल्लाका प्रहरी र प्रशासनका उच्च अधिकारीहरुले यस क्षेत्रको अनुगमन गरेर पनि केही चासो नदिएको स्थानीय सूर्यप्रसाद श्रेष्ठले बताए ।
विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले सार्वजनिक जग्गा कसैलाई पनि हडप्न नदिने बताए । अध्यक्ष गिरीले भने ‘गाउँपालिका भित्र रहेको सार्वजनिक जग्गा खोजेर त्यसको संरक्षणका लागि पालिकाले पहल गदैछ । हामी सार्वजनिक जग्गा पालिका मातहत राख्नु पर्छ भने प्रयास गरिरहेका छौं ।’ प्रमाण जुटाउन सके जग्गा उनीहरुको हुने र प्रमाण नपुगे सार्वजनिक जग्गा ठहरिने गिरीको भनाइ छ । यसबारेमा टेकप्रसाद र वडा नम्बर ४ का अध्यक्ष साहिल श्रेष्ठसँग कुरागर्न खोज्दा उनीहरु सम्पर्कमा आउन चाहेनन ।



सम्बन्धित
Loading...