बेहाल नारायणगढ – बुटवल सडक : म्याद सकिँदै, काम आधा पनि भएन

ठेकेदारले माग्यो थप २ वर्षको समय




नवीन पौडेल

नवलपुर — बुटवल–नारायणगढ सडक विस्तार आयोजनाको म्याद भदौ ११ गते सकिँदै छ । तर, अहिलेसम्म सो खण्डमा ४० प्रतिशत मात्रै काम भएको छ । ४ वर्ष ४ महिनामा आधा पनि काम नगरेको ठेकेदारले फेरि दुई वर्ष म्याद थपको प्रस्ताव गरेको छ ।




पहिलो पटक थप भएको एक वर्षको म्याद भित्र ५० प्रतिशत काम सम्पन्न गर्ने प्रतिबद्धता गरेको ठेकेदार कम्पनीले फेरि दुई वर्षको म्याद थप प्रस्ताव गरेपछि स्थानीय समेत आक्रोशित भएका छन् । ‘समयमा काम नगर्ने ठेकेदारसँग पटक पटक म्याद थप गर्नुको कारण के हो ?, हामीले कहिलेसम्म यस्तो हिलाम्य र धुलाम्य सडकमा यात्रा गर्नुपर्ने हो ?’ कावासोती १६ की स्थानीय मिना बस्नेतले भनिन्, ‘सरकारले ठेकेदारलाई कडाइ गर्न नसक्दा हामीले दुःख पाएका छौं । काम नगर्ने ठेकेदारलाई कारबाही गर्ने परिपाटी भए मात्रै समयमै काम हुन्छ ।’ खाडल र धुलोले सडक वरपर हिँड्न सक्ने अवस्था छैन । ‘ठेकेदारले मनोमानी गर्ने, सरकारले चुपचाप म्याद थप गर्दै जाँदा समस्या बढ्यो’ कावासोतीका व्यवसायी हरि आचार्यले भने ।

गैडाकोटदेखि दाउन्नेसम्म ६५ किलोमिटर सडक पूर्वी खण्ड र दाउन्नेदेखि बुटवलसम्मको ४९ किलोमिटर पश्चिम खण्ड नामाकरण गरिएको छ । १७ अर्ब लागतको यो परियोजना एसियाली विकास बैंक एडीबीको ऋण सहयोगमा अघि बढेको हो । सडक विस्तारको काम जङ्गल क्षेत्रमा चार लेन, दाउन्नेमा तीन लेन र बस्ती क्षेत्रमा छ लेन विस्तार गर्ने गरी दुबै खण्डको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ठेक्का लिएको हो ।

पूर्वी खण्डको ६५ किलोमिटरमा ४० प्रतिशत काम सम्पन्न भएको आयोजनाका पूर्वी खण्डका सूचना अधिकारी धिरज ढकालले बताए । पूर्वी नवलपरासी तर्फ एकतर्फी १४. ५ किलोमिटर दूरीमा कालोपत्रेको काम भएको छ । ‘पछिल्लो समय काम धमाधम भएपनि वर्षाको कारण अवरोध आएको छ । पुल तथा कल्भर्ट निमार्णको काममा धेरै प्रगति छ’ ढकालले भने, ‘वर्षापछि कामले तिब्रता पाउने छ । निर्माण सामग्री पनि अहिले उपलब्ध छ । त्यसैले अब काममा ढिलाइ हुँदैन ।’



सम्बन्धित
Loading...