नारायणगढ–बुटवल सडकको बेहाल, म्याद सकिंदै, काम आधा पनि भएन, ठेकेदारले माग्यो थप २ वर्षको समय




अघिल्लो पटक म्याद थप गर्दाको समयमा गरिएको प्रतिबद्धता अनुसार काम गरिएको भए बुटवल–नारायणगढ सडक खण्ड चार लेन विस्तारको काम अहिलेसम्म कम्तिमा ४९ प्रतिशत सकिसक्ने थियो तर अहिले करिब ४० प्रतिशतको हाराहारीमा मात्र काम भएको छ ।

बुटवल–नारायणगढ सडक विस्तार आयोजनाको म्याद भदौ ११ गते सकिँदै छ। तर, अहिलेसम्म सो खण्डमा ४० प्रतिशत मात्रै काम भएको छ। ४ वर्ष ४ महिनामा आधा पनि काम नगरेको ठेकेदारले फेरि दुई वर्ष म्याद थपको प्रस्ताव गरेको छ ।




पहिलो पटक थप भएको एक वर्षको म्याद भित्र ५० प्रतिशत काम सम्पन्न गर्ने प्रतिबद्धता गरेको ठेकेदार कम्पनीले फेरि दुई वर्षको म्याद थप प्रस्ताव गरेपछि स्थानीय समेत आक्रोशित भएका छन्। एकातिर सडक हिलाम्य रहेको छ भने अर्काेतर्फ बुटवलदेखि नारायणगढसम्म सडककै कारण बर्षामा सडक छेउका सबै गाउँ डुबानमा पर्न थालेको छ। घाम लाग्ना साथ सडक धुमाम्य भएर सताउने गर्दछ भने पानी पर्नासाथ हिलाम्य भएर हिड्नै गाह्रो हुने गर्दछ ।

‘समयमा काम नगर्ने ठेकेदारसँग पटक पटक म्याद थप गर्नुको कारण के हो ? हामीले कहिलेसम्म यस्तो हिलाम्य र धुलाम्य सडकमा यात्रा गर्नुपर्ने हो ?’ कावासोती १६ की स्थानीय मिना बस्नेतले भनिन् – ‘सरकारले ठेकेदारलाई कडाइ गर्न नसक्दा हामीले दुःख पाएका छौं। काम नगर्ने ठेकेदारलाई कारबाही गर्ने परिपाटी भए मात्रै समयमै काम हुन्छ।’ खाडल र धुलोले सडक वरपर हिँड्न सक्ने अवस्था छैन। ‘ठेकेदारले मनोमानी गर्ने, सरकारले चुपचाप म्याद थप गर्दै जाँदा समस्या बढ्यो’ कावासोतीका व्यवसायी हरि आचार्यले भने।

ठूलो परियोजनाको काम नसकेर म्याद सकिंदासम्म काम नगर्ने ठेकेदार कम्पनीलाई दण्ड जरिवाना गर्नको सट्टा सरकारले उल्टै १५ प्रतिशत बजेट थप गरिदिने गरेका कारण यस्तो भएको विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले बताए। उनले भने – ‘दण्ड जरिवाना गर्नुको सट्टा प्रोत्साहान गरे जसरी बजेट स्वतः थप हुने परिपाटीको अन्त्य भए ठेकेदारहरु सबै ठिक ठाउँमा आउँछन्।’

विनयी त्रिवेणी गाउँपालिकाले सोमबार मात्रै निर्माण कम्पनीलाई बोलाएर छिटो काम सक्ने खबरदारी गरेको छ । गैडाकोटदेखि दाउन्नेसम्म ६५ किलोमिटर सडक पूर्वी खण्ड र दाउन्नेदेखि बुटवलसम्मको ४९ किलोमिटर पश्चिम खण्ड नामाकरण गरिएको छ। १७ अर्ब लागतको यो परियोजना एसियाली विकास बैंक एडीबीको ऋण सहयोगमा अघि बढेको हो। सडक विस्तारको काम जंगल क्षेत्रमा चार लेन, दाउन्नेमा तीन लेन र बस्ती क्षेत्रमा छ लेन विस्तार गर्ने गरी दुबै खण्डको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ठेक्का लिएको हो। कावासोती नगरपालिकाका नगर प्रमुख विष्णु भुसालका अनुसार निर्माण कम्पनीलाई छिटो काम सक्न भन्दा उल्टै बर्षाको समयमा काम गर्न नसकिने भन्दै पन्छिएको बताए।

पूर्वी खण्डको ६५ किलोमिटरमा ४० प्रतिशत काम सम्पन्न भएको आयोजनाका पूर्वी खण्डका सूचना अधिकारी धिरज ढकालले बताए । पूर्वी नवलपरासी तर्फ एकतर्फी १४. ५ किलोमिटर दूरीमा कालोपत्रेको काम भएको छ । ‘पछिल्लो समय काम धमाधम भएपनि वर्षाको कारण अवरोध आएको छ । पुल तथा कल्भर्ट निमार्णको काममा धेरै प्रगति छ’ ढकालले भने, ‘वर्षापछि कामले तिब्रता पाउने छ । निर्माण सामग्री पनि अहिले उपलब्ध छ । त्यसैले अब काममा ढिलाइ हुँदैन ।’

ठेकेदार कम्पनीले सरकारसँग सडक विस्तारको काम गर्न थप २ बर्ष म्याद थप गर्न माग गरेको छ । सडक निर्माणमा ढिलाई हुँदा एकातिर सडक छेउका बासिन्दाको स्वास्थ्यमा समस्या परेको छ भने अर्कोतिर यात्रुहरुलाई २ घण्टाको बाटो ४ घण्टा लगाएर यात्रा गर्नु पर्ने बाध्यता रहेको छ ।



सम्बन्धित
Loading...