विपी स्मृति दिवशमा नेपाली कांग्रेसद्वारा नवलपुरमा विभिन्न कार्यक्रम

नवलपुुर । नेपाली कांग्रेस नवलपुरले विश्वेश्वर प्रसाद कोइराला (वि.पी.)को ४१ औं स्मृति दिवसमा विपीको सम्झना गर्दै विभिन्न कार्यक्रम गरेको छ ।
नवलपुर कांग्रेसले जिल्लाका आठवटै पालिकामा वृक्षरोपण र विचार गोष्ठी लगायतका कार्यक्रमहरु संम्पन्न गरेको हो । यसै सन्दर्भमा नेपाली कांग्रेस कावासोती नगर समितिको आयोजनामा कावासोतीको कुमारवर्ती बहुमुखी क्याम्पस चौरमा वृक्षरोपण गरेको छ ।
सोही अवसरमा कुमारवर्ती बहुमुखी क्याम्पसमा वि.पी. विचार तथा हाम्रो भुमिका विषयक विचार गोष्ठी समेत गरेको छ ।
विचार गोष्ठीमा गण्डकी प्रदेशका कृषि तथा भुमि ब्यावस्था मन्त्री महेन्द्र ध्वज जिसीको प्रमुख आतिथ्यता रहेको थियो । जिसीले वि.पी.को सम्झना गर्दै परिवेश र परिस्थिति जे जस्तो भएपनि वि.पी.का विचार कहिल्यै पुराना नहुने बताए ।
कार्यक्रमा नगर उपसभापति डिवि चौधरीले वि.पी. विचार तथा हाम्रो भुमिका विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा नेपाली कांग्रेस नवलपुरका कार्यवाहक सभापति चन्द्र बहादुर राना, नेपाली कांग्रेस जिल्ला कार्यसमितिका पदाधिकारी, क्षेत्रीय अध्यक्ष सूर्य गुरुङ, प्रदेश क्षेत्रका सभापति लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम नेपाली कांग्रेस कावासोतीका सभापति शालिकराम ढकालको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रमको संचाल नगर सचिव किरण भुर्तेलले गरेका थिए ।

