पोखरामा बर्खाको बबन्डर : कतै सडक भासियो, कतै घर बग्यो

पोखरा । अविरल वर्षाले पोखरा प्रभावित भएको छ । निरन्तर वर्षा भएपछि जमिन गलेर पोखरा १६ डाँडाथोक मार्गमा सडक भासिएको छ । शनिबार दिउँसोदेखि निरन्तर वर्षा रातभर रह्यो ।
सडक भासिँदा आउजाउ रोकिएको छ भने ३ वटा घर जोखिममा परेका छन् । ‘सडक भासिएपछि पुर्न टिप्परले माटो ल्याएको थियो । तर टिप्पर नै भासिएर खाल्डोमा परेपछि झनै समस्या भयो,’ वडाध्यक्ष अमृत तिमिल्सिनाले भने, ‘टिप्पर निकालेर जमिन पुरिएको छ । वरपर अझै जोखिम कायम छ ।’ विगत वर्षहरुमा पनि त्यस क्षेत्रमा जमिन भासिने गरेको थियो ।
‘पहिले भासिएकै ठाउँमा अहिले पुनः खाल्डो प¥यो । यहाँको जमिन कमजोर छ,’ उनी अघि भन्छन्, ‘यसको दीर्घकालीन समाधानका लागि तीनै तहको सरकार गम्भीर भएर लाग्नुपर्छ । अन्यथा ठूलो क्षति हुन सक्छ ।’ केही समयअघि नजिकै अर्मलामा बस्ती नै उठ्ने गरी भासियो । पोखराको जमिनमा चुनयुक्त माटो भएकाले भासिने गरेको भूगर्भविद्हरुको तर्क छ ।
यता शनिबार राति विजयपुर खोलामा ४ जना फसेका थिए । उनीहरुको सकुशल उद्धार गरिसकिएको छ । सत्रस्त्र प्रहरी बलको टोलीले उनीहरुको उद्धार गरेको पोखरा १३ का अध्यक्ष किरण बरालले बताए । २३ वर्षीय प्रेम सुनार, ४० वर्षका सुदिप गुरुङ, २८ वर्षका अर्जुन विक र १९ वर्षका क्षितीज नेपाली बाढीमा फँसेका थिए । साझामा निर्माणाधीन टंकीमा बसिरहेका उनीहरुलाई बगाएको र परिवारले थाहा पाएपछि प्रहरीलाई खबर गरिएको थियो ।
यसैबीच, पोखरा १८ मिरुवामा २ घरमा क्षति पुगेको छ । अविरल वर्षाका कारण पहिरोले घरमा क्षति पुगेको हो । स्थानीय माइकुमारी हमाल र सुन्दरश्याम अधिकारीको घरमा क्षति पुगेको प्रहरीले जनाएको छ । अधिकारीको घरमा पूर्ण क्षति पुगेको छ । उनीहरुलाई राति नै सुरक्षित ठाउँमा स्थानान्तरण गरिसकिएको छ । घरमा पहिरो परेपछि अधिकारी र हमाल सामान्य घाइते भएका थिए । उनीहरु उपचारपछि डिस्चार्ज भइसकेका छन् ।
खोला र नदीहरु बढेपछि पोखराको रामघाट तलाउ भएको थियो । बाढी पहिरोले हुन सक्ने क्षति न्यूनीकरण र क्षति भैहाले तत्काल राहत र उद्धारका लागि आफूहरु तयारी अवस्थामा रहेको कास्की प्रहरी प्रवक्ता डिएसपी श्रवणकुमार विकले जानकारी दिए ।
‘हामी अलर्ट छौं । वर्षा बढ्दो छ,’ उनले भने, ‘सकेसम्म क्षति कम हुने गरी तत्कालै घटनास्थलमा पुग्न हाम्रो टोली रेडी पोजिसनमा हुन्छ ।’ गण्डकी सरकारले पनि मनसुनजन्य क्षति न्यूनीकरणका लागि प्रदेश राहत कोष स्थापना गरेको छ । कोषमा १० करोड रुपैयाँ नघट्ने गरी राखिएको र जिल्लास्तरीय विपद् कोषमा कम्तीमा १० लाख व्यवस्था गरिएको सरकारले जनाएको छ ।