नवलपुरमा साउन २४ गते सार्वजनिक विदा
नवलपुर । पूर्वी नवलपरासीमा साउन २४ गते परेको विश्व आदिवासी जनजाति दिवसलाई लक्षित गरेर सार्वजनिक विदा प्रदान गरिएको छ ।
नवलपुरका ८ वटै पालिकाहरुले सार्वजनिक सूचना मार्फत २९ औं विश्व आदिवासी दिवसका लागि पालिका भित्रका सरकारी कार्यालय, विद्यालय र सार्वजनिक संस्थानमा विदा दिएको हो ।
नेपाल आदिवासी जनजाति महासंघ नवलपुरले सबै पालिकाहरुलाई ज्ञापन पत्र बुझाएर सार्वजनिक विदा माग गरेको थियो ।
नवलपुरको कावासोती नगरपालिका, मध्यविन्दु नगरपालिका, देवचुली नगरपालिका, गैडाकोट नगरपालिका, विनयी त्रिवेणी गाउँपालिका, हुप्सेकोट गाउँपालिका, बुलिङटार गाउँपालिका र बौदीकाली गाउँपालिकाले सार्वजनिक विदा दिएको हो ।
नवलपुरमा विश्व आदिवासी दिवसको अवसर पारेर नेपाल आदिवासी जनजाति महासंघ नवलपुर र पालिका समन्वय परिषदहरुको संयुक्त आयोजनामा कावासोतीमा र नेपाल आदिवासी जनजाति महासंघ गैडाकोटले गैडाकोटमा छुट्टाछुट्टै कार्यक्रम आयोजना गरि विश्व आदिवासी दिवस मनाउँदै छ ।





