२ लाख २९ हजार नगदसहित कावासाेतीमा तास खेलिरहेका ८ जना पक्राउ
रामकुमार श्रेष्ठ –
नवलपुर । पूर्वी नवलपरासीकाे कावासाेतीमा तास खेलिरहेका ८ जना नगद २ लाख २९ हजार सहित पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासाेती २ मालपाेत चाेकमा गाेविन्द न्याैपानेकाे घर तास खेलिरहेका ८ जनालाई गए राति पक्राउ गरेकाे हाे ।
पक्राउ पर्नेमा कावासाेती २ निवासी ४२ बर्षीय सुन्दर श्रेष्ठ, कावासाेती ३ निवासी ३८ बर्षीय श्याम भट्टराई, कावासाेती -११ निवासी ३९ बर्षीय ज्ञानेन्द्र महताे, कावासाेती २ निवासी २८ बर्षीय नारायण उपाध्याय, कावासाेती २ निवासी ३९ बर्षीय गोविन्द शर्मा न्यौपाने, कावासाेती ३ निवासी ४८ बर्षीय दानबहादुर सिंजाली, कावासाेती २ निवासी ४० बर्षीय खिम लामिछाने र कावासाेती ३ निवासी ४२ बर्षीय फडेन्द्र भण्डारी रहेका छन् ।
उनीहरूकाे साथबाट प्रहरीले नगद २ लाख २९ हजार ७० रूपैयाँ, खेलिरहेकाे अवस्थाकाे तास २ सय ८८ पत्ता र बन्द रहेकाे ७ गड्ठी तास बरामद गरेकाे छ । उनीहरूलाई आवश्यक कारवाही अगाडि बढाईएकाे प्रहरीले जनाएकाे छ ।
त्यसैगरी गएराति नै नवलपुर प्रहरीले २ कार्टुन पटेका बरामद गरेकाे छ ।
पश्चिम नवलपरासीबाट लु २ ख ८१११ काे बसकाे डिक्कीमा लुकाई ल्याएकाे अवस्थामा २ कार्टुन पटेका बरामद गरेकाे हाे ।