धार्मिक सदभाव खलबलाउन खोज्ने धर्मगुरु आचार्य श्रीनिवास पक्राउ

धरान । हिन्दुधर्म गुरु आचार्य श्रीनिवासलाई सुनसरी प्रहरीले नियन्त्रणमा लिएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका स्थित चक्रघट्टीबाट आचार्य श्रीनिवास भनेर चिनिने दिनेश पण्डितलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवत्ता डिएसपी नविनकृष्ण भण्डारीका अनुसार उनलाई साधारण सोधपुछकालागी नियन्त्रणमा लिइएको हो । प्रहरीले उनीमाथी अनुसन्धान भइरहेको भन्दै थप विषय खुलाउन भने चाहेन । उनले साता दिनअघि धनुषाको एउटा कार्यक्रममा धार्मिक तथा सामाजीक सद्भाव भड्काउने अभिव्यक्ति दिएको र उनी विरुद्ध उजुरी परेकोले पक्राउ गरिएको प्रहरी स्रोतले बताएको छ ।
आचार्य श्रीनिवासाचार्यले ‘जसले गाई काटेर मिडियामा राखेको छ र जसले गाई काट्छ त्यो व्यक्तिलाई गएर तपाईंले खुकुरी लिएर गएर काटिदिनुस तपाइँलाई दश वर्षसम्म जेलमा पाल्ने काम म गर्छु । तपाईंको पत्नी, बच्चा, परिवारलाई दश वर्षसम्म तपाईं जेल बसुन्जेल भिख मागेर ल्याएर पाल्ने काम म गर्छु, आँट गर्नुहोस् हिम्मत गर्नुहोस् ।’ भन्ने अभिव्यक्ति दिएका थिए । उनको त्यो अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल समेत भइरहेको छ ।
नेपालगन्जमा भएको धार्मिक द्वन्द्वमा सामाजिक सञ्जाल फेसबुकबाट उनले तीखो टिप्पणी गरेका थिए । धरानमा मन्दिरको अगाडि धरानका मेयर हर्क साम्पाङले चर्च बनाएको भन्दै श्री निवासाचार्यले साम्पाङको समेत चर्काे आलोचना गरेका थिए । उनी २०७४ चैत २५ मा आफ्नै पाखुरामा गोली हान्न लगाएको आरोपमा पनि पक्राउ परेका थिए ।