नेकपा एसको मेची महाकाली जागरण अभियानटोली शनिबार कावासोती आइपुग्ने

रामकुमार श्रेष्ठ –
नवलपुर । नेकपा एकीकृत समाजवादी पार्टीको मेची महाकाली जागरण अभियानको टोली पर्सी २० गते कावासोती आइपुग्ने भएको छ ।
नेकपा एकीकृति समाजवादी नवलपुरले विहीबार कावासोतीमा गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार असोज २० गते टोली चितवनबाट गैडाकोट हुँदै कावासोती आइपुग्ने छ ।
टोलीमा पार्टी अध्यक्ष माधवकुमार नेपाल, पार्टीका सम्मानित नेता झलनाथ खनाल, घनश्याम भुसाल, रामकुमारी झाँक्री सहितका नेताहरु आउने छन् । मेची महाकाली अभियानको टोलीले शनिबार कावासोतीमा सम्बोद्धन गर्ने र त्यसपछि पश्चिम नवलपरासी हुँदै शनिबार नै रुपन्देही पुग्ने बताइएको छ ।
पत्रकार सम्मेलनमा नेकपा एसका प्रदेश अध्यक्ष श्रीनाथ बराल, प्रदेश सचिव प्रसादलाल श्रेष्ठ, नवलपुर जिल्ला इन्चार्ज साकिलराम भट्टराई लगायतले कार्यक्रमको बारेमा जानकारी गराएका थिए ।
जिल्ला सचिव सुस्मा काफ्लेको सञ्चालनमा भएको पत्रकार सम्मेलन नेकपा एस नवलपुरका कार्यवाहक जिल्ला अध्यक्ष गणेशमान महताको अध्यक्षतामा भएको थियो । पत्रकार सम्मेलन अघि बसेको पार्टीको जिल्ला कमिटिको वैठकले २० गतेको कार्यक्रमका लागि तयारी स्वरुप विभिन्न उपसमितिहरु गठन गरेको पनि जनाएको छ ।
पत्रकारहरुले राखेको एक जिज्ञासामा नेकपा एस नवलपुरका इन्चार्ज सालिकराम भट्टराईले नवलपुरमा पार्टीलाई एक बनाएर लैजाने विषयमा आफू वाधक नभएको र आफ्नै कारणले पार्टी छाडेका साथीहरु पार्टीमा फर्कन चाहे आफूले केन्द्रिय सदस्य र जिल्ला इन्चार्जको पद छाडेर सहमतिको विकल्प खुल्ला राख्ने बताएका थिए ।
नेकपा एस नवलपुरमा केही दिन अघि भट्टराईलाई जिल्ला इन्चार्ज बनाएको विषयमा असन्तुष्ट जनाउँदै जिल्ला अध्यक्ष झविलाल राना सहितको टोलीले पार्टीबाट राजिनामा दिएको थियो । पत्रकार सम्मेलनमा राजिनामा दिने टोलीहरुलाई पार्टीमा फर्काउन छलफल चलिरहेको समेत बताइएको थियो ।