सिजी ब्रुअरीले मजदुरलाई दशैं बोनस नदिएपछि मजदुर आन्दोलित, झडपमा परी डेढ दर्जन बढी घाइते




नवलपरासी । उद्योगपति एवम् सांसद विनोद चौधरीको सिजी ब्रुअरीले दशैं बोनस वितरण नगरेको भन्दै आन्दोलनमा उत्रिएका मजदुर र प्रहरीबीच झडप हुँदा डेढ दर्जन बढी घाइते भएका छन् ।

आन्दोलनरत मजदुरहरु इन्जिनियरिङ कोठाभित्र छिरेका प्रहरीले बल पूर्वक निकाल्न खोज्दा झडप भएको थियो ।
बुधबार राति भएको झडपमा परी प्रहरी र मजदुर दुवैतर्फ गरी डेढदर्जनको संख्यामा घाइते भएका छन् ।
दुम्कौली स्थित सिजी ब्रुअरीमा मजदुरले शुरु गरेको आन्दोलनका क्रममा सुरक्षाकर्मी र मजदुर बिच झडप हुदा डेढ दर्जन घाइते भएका छन ।




चौधरी उद्योग व्यवस्थापनका गोबिन्द रेग्मीले दिएको जानकारी अनुसार कारखानाका सुरक्षाकर्मी दिलिप चौधरी , सुजित मुखर्जी, छत्र खडका, हरी आचार्य र महाप्रबन्धक खडग पौडेल घाइते भएका छन । अन्य थुप्रै प्रहरी समेत घाइते भएको रेग्मीले बताए ।
त्यहा खटिएका प्रहरी निरिक्षक साजन शर्माले डिएसपी बेदबहादुर पौडेल र आफु सहित थुप्रै सुरक्षाकर्मी घाइते भएका बताए । कारखाना व्यवस्थापन अधिकारीहरुलाई मजदुरले आक्रमण गरेपछि प्रहरी र मजदुर बिच झडप भएको उनले बताए । कारखानामा आन्दोलन गरिरहेका मजदुरहरुलाई प्रहरीले राती पौने १० बजे लखेटेको छ ।
मजदुरहरुको आक्रमणवाट उनिहरु घाइते भएको कारखाना ब्यबस्थापनको भनाई छ । आक्रमणमा एक पक्षले अर्को पक्षलाई दोष दिएका छन ।

कार्यकक्षमा रहेका कारखना ब्यबस्थापनका अधिकारीहरुमाथि मजदुरहरुले आक्रमण गरेपछि स्थिती नियन्त्रणमा लिन बल प्रयोग गरेको प्रहरीले जनायो ।

यसवर्ष ब्रुअरीले मजदुरहरुलाई बोनस नदिएको भन्दै बुधवार बिहानैदेखि आन्दोलन थालेर नारावाजीमा उत्रिन परेको ब्रुअरीका मजदुर नेता शशि सिग्देलले बताए । मजदुरहरुले उत्पादनमा अबरोधको प्रयास गरेका थिए । वार्तामा बसेर छलफल गर्न ब्यबस्थापन नमानेका कारण नारावाजी गरेर बिरोधमा उत्रिन परेको मजदुरहरुको भनाई छ ।

त्यहा कार्यरत सिजी ब्रअरी नेपाल ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष सुर्यनाथ ढकालका अनुसार हरेक वर्ष कम्पनिले कमाएको नाफाको आधारमा मजदुरलाई १० प्रतिसत बोनस दिदै आएको सिजी बु्रअरीले यस वर्ष नदिने घोषणा गरेको भन्दै मजदुरहरु आन्दोलनमा उत्रिएका हुन । हरेकवर्ष दिदै आएको बोनस यो वर्ष नदिएको मजदुरहरुको गुनासो छ । बिहान ७ बजेदेखि मजदुरले आन्दोलन थालेका हुन ।

बु्रअरीमा ३ सय २५ मजदुर कार्यरत छन । सिजी ब्रुहरीले नेपाल आइस , मुस्तांग लगायतका बियर उत्पादन गर्दै आएको छ ।
आन्तरीक राजश्व कार्यालयका अनुसार यो वर्ष सिजी बु्रअरीले २८ लाख कार्टुन बियर उत्पादन गरेर बजार पठाएको छ । नेपालमा टुबोर्ग बियर समेतका उत्पादक गोर्खा बु्रअरी पछि सिजी बु्रअरी बियर उत्पादनको हिसावले दोस्रो ठुलो कम्पनी हो । बुधवार राती पटक पटक झडप भएपछि ठुलो संख्यामा नेपाल प्रहरी र शशस्त्र प्रहरीलाई चौधरी उद्योगमा खटाइएको छ ।



सम्बन्धित
Loading...