अझै पुगेन भुकम्प पीडितसम्म राहत सामग्री, पालमै रात काट्न बाध्य

नलगाड नगरपालिका–२ माझगाउँ टोलका राजकुमार विकको परिवारले दुई रात खुला आकाशमुनि वितायो । शुक्रबार मध्यरातमा आएको भूकम्पले घर भत्कियो । उनीहरुले जसोतसो ज्यान जोगाए । जनाको परिवार शनिबारदेखि बारीको पाटोमा छ । राजकुमारलाई सुत्केरी पत्नी र नवजात शिशुलाई चिसोबाट जोगाउन हम्मेहम्म परेको छ । ‘म आरनको काम गर्छु, हँसिया कुटो कोदालो बनाउँछु, एक मानो उनीहरुले दिएको खाएर जीविका चलाउने मान्छे हुँ’ उनले भने, ‘त्रिपाल किन्ने अवस्था मेरो छैन ।’
लगातार दुई रात बारीको पाटामा सुत्दा चिसोले घाँटी दुखेर बोल्न समेत गाह्रो भएको छ । सोमबार राहत पाइन्छ भन्ने सुनेपछि राहत बाँड्ने भनिएको ठाउँमा पुगे । ‘ट्याक्टर बिग्रेर राहत आएनछ, आउँछ आउँछ भन्थे’, उनले भने ।
उनी मात्र होइन, जाजरकोटको नलगाड नगरपालिकाका धेरै भूकम्पपीडितले राहत पाउन सकेका छैनन् । शुक्रबार राति मध्यरातमा भूकम्प गएदेखि घरबाहिर रहेका उनीहरुले ओतका लागि गतिलो त्रिपाल समेत पाएका छैनन् ।
घर भत्किएकाहरुको अन्नपात, लत्ता कपडासमेत पुरिएको छ । घर पूर्ण रुपमा नभत्किएकाहरु पनि भित्र बस्ने अवस्था छैन । भूकम्पले चिराचिरा परेको घर कतिबेला भत्किन्छ भन्ने त्रासका करण भूकम्पपीडित बाहिरै बसेका छन् ।

भूकम्प गएको भोलिपल्ट बिहानदेखि संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले राहत घोषणा गरेका छन् । कतिपयले ट्रकमा राहत सामग्री लिएर वितरण गर्न जाजरकोट पुगेका छन् । तर धेरै गाउँलेले राहत पाएका छैनन् ।
केही राहत जिल्ला सदरमुकाम खलंगामै थुप्रिएको छ, भने पालिकासम्म आइपुगेको राहत पनि वितरण हुन सकेको छैन ।
नलगाड नगरपालिका–२ का वडा सदस्य टीकाराम जैसीले राहत वितरण समयमा हुन नसकेको बताए ।