किसानलाई माला गाँस्न भ्याइनभ्याइ, एउटै मालाको १०० देखि १३० सम्म
रामकुमार श्रेष्ठ —
नवलपुरको कावासोतीका फूलखेती गरेका किसानलाई अहिले फूल टिपेर माला गाँस्न भ्याइनभ्याइ भएको छ । तिहार नजिकिएसँगै किसानले फूल टिपेर माला बनाउन थालेका हुन् ।
कावासोतीमा सित भण्डार नभएको कारण केही छिटो फूल उत्पादन हुँदा फूल खेर गएको छ । फूल किलोमा भन्दा पनि मालामा किन्न इच्छुक उपभोक्ता बढी भएपछि किसानहरुलाई फूलको माला उन्न भ्याइ नभ्याई भएको हो । त्यसो त ८ वटा पालिका रहेको नवलपुरको ८ वटै पालिकामा धेरै थोरै किसानहरुले व्यवसायिक रुपमा सयपत्री र मखमली फूलको खेती गरेका छन् ।
बजारमा अहिलेसम्म भारत लगायतका बाह्य देशहरुबाट आयात भएको प्लाष्टिकका मालाहरु देखिए पनि किसानहरुले भोलिदेखि बजारमा फूलको माला पठाउने कावासोती ८ का फूल किसान विष्णु पोख्रेलले बताए । कावासोती नगरपालिकाको कावासोती २, ३, ४, ५, ८, ९, १३, १६ लगायतका वडाहरुमा किसानहरुले व्यवसायिक रुप्मा फूल खेती गरेका छन् । त्यसैगरी नवलपुरको बुलिङटार, बौदीकाली, विनयी त्रिवेणी, हुप्सेकोट, गैडाकोट, मध्यविन्दु, कावासोती र देवचुलीमा यस बर्ष फूल खेती गर्ने किसानहरु बढेका छन् ।
उनलाई अहिले छरछिमेकका मानिसहरु बोलाएर फूलको माला उन्न भ्याइनभ्याइ भएको छ । त्यसो त कावासोती ५ का भेषराज गाहा, सुरज भुजेल लगायतका कावासोतीका सबै फूलखेती गर्ने किसानहरुलाई फूलको माला उन्न छरछिमेकका सहयोगी गुहार्न परेको छ ।
गाहाले भने – ‘जिल्ला भित्रै माग धेरै छ । किलोमा लैजाने भन्दा मालामा माग बढी छ त्यसैले माला बनाउन छरछिमेकमा हार गुहार गर्न बाध्य छौं ।’
‘
कावासोती लगायत नवलपुर जिल्लामा अहिले अधिकांश क्षेत्रमा फूलको मूल्य प्रति किलो ग्राम ५ सय रुपैयाँदेखि ६ सय रुपैयाँको बीचमा छ भने माला क, ख र ग वर्ग गरेर प्रति माला १००, १२० र १३० रुपैयाँ रहेको छ ।
यहाँका किसानहरुले बिचौलीया मार्फत भन्दा पनि सोझै किसान मार्फत उपभोक्ताको हातमा फूल र फूलका माला पुर्याउने प्रयास गरेका छन् । बिचौलियाको हातबाट फूलको माला उपभोक्ता अर्थात ग्राहकसम्म पुग्दा गत बर्ष प्रति माला २५० देखि ३०० रुपैयाँसम्म पुगेकोले नवलपुरका किसानहरुले यस बर्ष सोझै उपभोक्ताको हातमा पुर्याउने प्रयास गरेका छन् ।



