सरस्वती संस्कृत तथा साधारण मा. वि. गिरुवारीमा स्वर्ण स्तम्भको शिलान्यास


प्रिय धन – २ पौष २०८० ।
पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका ३ गिरुवारीमा रहेको सरस्वती संस्कृत तथा साधारण माध्यमिक विद्यालयमा आज स्वर्ण स्तम्भको शिलान्यास गरिएको छ ।



स्थापनाको ५३ औ वार्षिकोत्सव तथा स्वर्ण महोत्सव वर्षको अवसरमा विद्यालयमा स्तम्भ बनाउन लागिएको हो ।

यसका लागि अनुमानित ७ लाख रूपैयाँ सहित अन्य सहयोग गर्ने प्रतिवद्धता गाउँपालिकबाट प्राप्त भएको स्वर्ण महोत्सव मुल समारोह समितिका संयोजक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमर बहादुर गोदारले जानकारी दिनुभयो ।




हुप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मी देवी पाण्डेले आज स्वर्ण स्तम्भको हिन्दु परम्परा अनुसार पूजा गरि विधिवत शिलान्यास गर्नुभएको हो । सो क्रममा अध्यक्ष पाण्डेले यथासक्य चाँडो स्तम्भको काम सक्न निर्देशनात्मक अनुरोध गर्नुभयो ।

यस्तै कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोल्नु हुँदै हुप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मी देवी पाण्डेले सरस्वती संस्कृत तथा साधारण विद्यालय , हुप्सेकोटको शैक्षिक गहना भएको बताउनुभयो ।

साविक देउराली गाविस रहँदा यहाँका अभिभावकले यस विद्यालयको अभिभावकत्व ग्रहण गरेकाले आज यो विद्यालय यस स्थानसम्म आउन सफल भएको भन्दै स्थानीय सहयोगी तथा पूर्व अध्यक्ष , प्रधानाध्यापक तथा पदाधिकारीहरुलाई प्रमुख अतिथि पाण्डेले धन्यवाद समेत प्रकट गर्नुभयो ।

यस्तै हुप्सेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टंकनाथ घिमिरेले समय प्रतिस्पर्धाको भएकाले अबको शिक्षा व्यवहारिक हुनुपर्नेमा जोड दिनुभयो । शिक्षकको पेशागत दक्षतासँगै प्रविधिमैत्री हुन पनि उहाँले शिक्षकहरुलाई सुझाव दिनुभयो ।

हुप्सेकोट गाउँपालिकाका शिक्षा समिति अत्यन्त जुझारु र मेहनती भएको भन्दै प्रमुख प्रशासकीय अधिकृत घिमिरेले शिक्षा क्षेत्रमा हुप्सेकोटले छिट्टै नै फड़को मार्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई नवलपुरका प्रमुख रूद्र शर्मा, नेपाल शान्ति माध्यमिक विद्यालय बेलहानीका प्रधानाध्यापक सुर्य प्रसाद भण्डारी , विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष भिम नारायण रेग्मी लगायतले बोल्नुभएको थियो ।

कार्यक्रममा हुप्सेकोट गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख माधवराज गौतम , स्रोत शिक्षक लाल चन्द्र लामिछाने , छिमेकी विद्यालयका प्रधानाध्यापक , अभिभावक लगायतकाको उपस्थिति रहेको थियो ।

समापनका क्रममा कार्यक्रममा उपस्थित सम्पूर्णमा धन्यवाद ज्ञापन गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमर बहादुर गोदारले महत्वपूर्ण घड़ीमा आफ्नो कार्यकाल व्यतित भईरहेकाले आफ्नो नेतृत्वमा स्वर्ण वर्ष मनाउन पाउनु गर्वको विषय भएको बताउनुभयो ।

स्वर्ण वर्ष मनाउने मात्रै नभई शैक्षिक क्षेत्रमा सरस्वती संस्कृत तथा साधारण माध्यमिक विद्यालयलाई उच्च स्थानमा लैजानका लागि अहिलेका विभिन्न समितिका पदाधिकारीहरु डटेर लागेको पनि उहाँले बताउनुभयो । शिक्षकका समस्यालाई आत्मैदेखि चिन्तन गर्दै आगामी दिनमा कुनै पनि समस्या आउन नदिन हरपल साथमा रहने पनि अध्यक्ष गोदारले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

विद्यालयका शिक्षक पुष्पा कंडेलले संचालन तथा विद्यालयका सहायक प्रधानाध्यापक रेनुका भट्टराईले स्वागत मन्तव्य राख्नुभएको ५३ औ वार्षिकोत्सव तथा स्वर्ण महोत्सव शुभारम्भ एवं स्वर्ण स्तम्भ शिलान्यास समारोह कार्यक्रम, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमर बहादुर गोदारको अध्यक्षता तथा हुप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मी देवी पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।



सम्बन्धित
Loading...