बाररमा बस र ट्रक ठोक्किदा ३ जनाको मृत्यु

४ मङ्सिर । बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २२ स्थित ३ नम्बर पुल नजिक आज बिहान भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । घटनामा परी अन्य २७ जना घाइते भएका छन् ।
राति २ बजेको समयमा काकड्भिट्टाबाट काठमाडौँतर्फ आउँदै गरेको बा ३–००१ ख २५८७ नम्बरको बस र हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको ना ७ ख ७३०० नम्बरको ट्रक एक आपसमा ठोक्किदा ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घनामा घाइते भएका ३ जनाको मकवानपुरको हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा ट्रक चालक तनहुँ घर भएका २८ वर्षीय पूर्ण गुरुङ, मकवानपुरको हेटौँडाका बस चालक ४० वर्षीय हरि शमशेर सुयाल थापा र अर्का एकजना व्यक्तिको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेकोले उपचारका लागी चितवन स्थित मेडिकल कलेज पठाइएको र सामान्य घाइते भएका २० जनाको हेटौँडाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।