होटल बास बस्न पुगेका एक पुरुषको होटल पुगे लगतै निधन

सिरहा, पुस ११ गते । सिरहाको मिर्चैया बजारको कटारी चौकमा रहेको एक होटलमा बास बस्न गएका एक पुरुषको मृत्यु भएको छ ।
होटलमा पुगेको केहीबेरमै सिरहाको कल्याणपुर नगरपालिका-२ चतरीका ४० वर्षीय मुकेश प्रसाद कर्णको मृत्यु भएको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । मिर्चैयाको कटारिचौकमा रहेको ओखलढुङ्गे गिरी होटलमा एक महिलासहित गएका कर्णको केही बेरमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
महिलासहित उनी होटलमा बास बस्ने गरी आएर कोठा लिएका थिए । कोठामा गएको १० मिनट पनि नबित्दै महिला ‘मेरो राजालाई के भयो’ भन्दौ माथिल्लो तल्लाको कोठावाट तल झरेको होटलका सञ्चालक विजय यादवले बताएका छन् ।
‘महिला रोइकराई गर्दै आएलगत्तै हामी सबैजना उनको कोठामा पुग्यौ,’ होटल संचालक यादवले भने,’उनलाई हेर्दा बेहोस अवस्थामा थिए । तत्काल नजिकैको स्वास्थ्य संस्थामा पुर्याउदा पनि स्वास्थ्यकर्मीले मृत्यु भैसकेको बतायो ।’
घटनाको सूचना पाएका ईलाका प्रहरी कार्यालयका डिएसपी जितेन्द्र बस्नेतले महिलालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको बताएका छन् ।
मृतकको मुख बाङ्गो भएको र त्यो देख्दा उच्चरक्त चापका कारण मृत्यु भएको जस्तो देखिएपनी थप जानकारी पोष्टमार्टमपछि मात्र हुने डिएसपी बस्नेतले बताए ।