बालकुमारीमा गोली चल्यो, एक जनाको मृत्यु, केही घाइते, १७ जना पक्राउ




ललितपुरको बालकुमारीमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर एक आन्दोलनकारीको मृत्यु भएको छ। प्रहरीको गोली लागेर घाइते भएका आन्दोलनकारीको उपचारको क्रममा किष्ट अस्पतालमा मृत्यु भएको हो । मृतक पुरुष हुन् ।

किष्ट अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले घाइते भएर ल्याइएका एक पुरुष घाइतेको उपचारका क्रममा मृत्यु भएको पुष्टि गरे । मृतकको पहिचान खुल्न बाँकी रहेको उनले बताए ।




रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरियामा काम गर्न जान खोज्नेहरुले गरेको प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो । स्थिति नियन्त्रणमा लिन गोली चलाउनु परेको जिल्ला प्रहरी परिसर ललितपुरका एजकना अधिकृतले जानकारी दिए ।

प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास पनि प्रहार गरेको थियो । प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढ्ने बा.२ झ ५८६१ नम्बरको गाडी जलाएका थिए । घटनामा केही आन्दोलनकारी घाइते समेत भएको बताइएको छ ।

ललितपुरको ग्वार्कोमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले प्रयोग गर्ने सरकारी गाडीमा आगजनी गरेको आरोपमा प्रहरीले १७ जनालाई पक्राउ गरेको छ।

आन्दोलित इपिएस परीक्षार्थीहरूहरूले मन्त्री ज्वालाको गाडीमा आगजनी गरेपछि स्थिति तनावग्रस्त बनेको हो। घटनास्थलबाट १७ जनालाई पक्राउ गरेको केन्द्रीय प्रहरी प्रवक्ता डिआइजी कुवेर कडायतले बताए।

उनकाअनुसार प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाएको छ। प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेका थिए।प्रहरीले हवाइफायर र अश्रुग्यास प्रहार गरेको हो।

अहिले ग्वार्को-बालकुमारी क्षेत्रमा प्रहरीले प्रदर्शनकारीलाई पक्राउ गरिरहेको छ।



सम्बन्धित
Loading...