विदेश पठाइदिने भन्दै १० करोड ठगेको आरोपमा सी स्टार ट्रेनिङ सेन्टरका सञ्चालक पक्राउ




१० करोड रुपैयाँ ठगेको आरोपमा सी स्टार ट्रेनिङ सेन्टरका सञ्चालक पक्राउ परेका छन्।

ट्रेनिङ सेन्टर सञ्चालक ललितपुर कोन्ज्योसोम गाउँपालिका-१ का ४७ वर्षीय लालबहादुर लामा पक्राउ परेका हुन्।




उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको टोलीले सोमबार दिउँसो शंखमुलबाट पक्राउ गरेको हो।

उनले काठमाडौं महाराजगञ्जस्थित ट्रेनिङ सेन्टर सञ्चालन गरी वैदेशिक रोजगारीको लागि लिथोनिया, क्यानडा, सिंगापुरलगायतका देशमा पठाइदिने भन्दै रकम ठगेको उजुरी छ। सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) रवीन्द्र रेग्मीले जानकारी दिए।

उनले पीडितहरूबाट ५ देखि १५ लाख रुपैयाँसम्म लिने गरेको अनुसन्धानमा खुलेको छ। उक्त ट्रेनिङ सेन्टरबाट ९ सय ९७ थान राहदानीसमेत बरामद गरिएको उनले जानकारी दिए।

पक्राउ परेका लामालाई अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।



सम्बन्धित
Loading...