राप्ती नदीमा बस दुर्घटना (अपडेट) – पाँच यात्रुको मृत्यु




दाङको भालुवाङस्थित राप्ती पुलबाट यात्रुवाहक बस खस्दा पाँचजनाकाे मृत्यु भएको छ । मृत्यु हुनेको पहिचान खुलेको छैन ।  

इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक उज्ज्वल सिंहका अनुसार शवहरू गाडीले च्यापिएको अवस्थामा रहेका छन् । शव निकाल्ने प्रयास भइरहेको उनले जानकारी दिए । 




नेपालगन्जबाट काठमाडौं जाँदै गरेको भे. १ख ३९१२ नम्बरको यात्रुवाहक बस शुक्रबार राति साढे १० बजेतिर पुलबाट एक्कासि नदीमा खसेको हो । 

बसको आधा भाग पानीमा र आधा बाहिर रहेको छ । दुर्घटनामा घाइते भएकाहरूलाई उद्धार गरेर उपचारका लागि भालुवाङ अस्पतालमा लगिएको छ ।  

अहिले प्रहरी तथा स्थानीय उद्धारमा खटिएका छन् । तीव्र गतिका कारण अनियन्त्रित भई बस पुलबाट खसेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।



सम्बन्धित
Loading...