नवलपुरमा आज थारु समुदायले माघी (खिचरी) पर्व मनाउँदै

रामकुमार श्रेष्ठ
नवलपरासी – आज पूर्वी नवलपरासी र चितवनमा थारु समुदायले मनाउन माघी पर्व अर्थात खिचरी धुमधामका साथ मनाउँदै छन् । आफन्त इष्टमित्र, चेलीबेटीहरुलाई बोलाएर घिउ, तरुल, चिचर, घोगी, माछा, मासु, खिचरी लगायतका परिकार खाएर आज थारु समुदायले माघी अर्थात चिखरी पर्व मनाउँदै छन् ।
यहाँ १ साता अघिदेखिनै थारु समुदायले माघी अर्थात खिचरी पर्व मनाउने गर्दछन् । विशेषतः माघ १ गतेकै दिन माघी (खिचरी) पर्व मनाइने भए पनि विगत केही बर्षदेखि साताव्यापी रुपमा मनाउने प्रचलन बढेको छ ।
यहाँका थारु समुदायले माघीलाई खिचरी पर्वको रुपमा मनाउने प्रचलन रहेको छ । माघीलाई नयाँ बर्षको रुपमा मनाइन्छ । थारु समुदायको माघी खिचरी पर्वबाट नयाँ बर्ष २६४७ औं शुरु हुने छ ।
नयाँ बर्षमा पुराना हरुवाचरुवाहरुलाई मुक्ति दिने र नयाँ हरुवाचरुवा बस्न चाहानेहरुलाई जमिन्दार, मुखियाको घर हरुवाचरुवाको रुपमा बस्ने दिने गाउँमा नयाँ मुखिया (बडघर) चयन गर्ने, गएको बर्ष गाउँमा भएका विकास निर्माणका कामहरु कुलो, बाटो, पार्टी, मन्दिर लगायतका कामहरुको मूल्यांकन गर्ने र नयाँ योजना बनाउने आदि गर्ने प्रचलन रहेको बताउँछन् थारु समुदायका अगुवा गणेशमान महतो । त्यसो त थारु समुदायमा हरुवा चरुवाबाट मुक्ति पाइने दिन भएकोले यस दिनलाई मुक्ति दिवसको रुपमा पनि मान्ने गरिएको छ ।
त्यसैगरी थारु समुदायका अगुवा गणेशमान महतोका अनुसार १ बर्षमा सबै खेतीपाती भित्राइसकेर नयाँ खेती शुरु गर्ने पर्वको रुपमा पनि यसलाई लिने गरिन्छ ।
अन्य क्षेत्रका थारु समुदायले आजको पर्वलाई माघी पर्वको रुपमा मनाए पनि चितवन र नवलपुरका थारु समुदायले भने खिचरी पर्वको रुपमा मनाउने गर्दछन् ।
माघमा अत्यधिक जाडो हुने भएकोल चिचर, माछा शरिरलाई गर्मी गराउने परिकार खाएर जाडो फाल्ने प्रचलन रहेको थारु कल्याणकारिणी सभा नवलपुरका सभापति रामप्रसाद महतोले बताए । आज चेलिवेटीलाई बोलाउने दानदक्षिणा दिने, मिठा मिठा परिकारहरु खुवाउने प्रचलन रहेको रामप्रसाद महतोले बताए ।
चितवन र नवलपुरमा १२ औं सताब्दीदेखि बस्दै आएको यहाँका थारुले माघी पर्वलाई खिचरी पर्वको रुपमा मनाउने गर्दै आएको थाकसी नवलपुर सभापति महतो बताउँछन् । ,
आजको दिन थारु समुदायमा मुख्य रुपमा खिचरी बनाएर अन्य परिकारसँग खाने गरेका कारण आजको दिनलाई नवलपुरमा खिचरी पर्व भन्ने प्रचलन बस्दै आएको थारु समुदायका अगुवा पिताम्बर महतोले बताए ।
खिचरी पर्वको अवसरमा कावासोतीको मगरकोटमा रहेको नवलपुर थारु समुदायिक होम स्टे र रजहरको पिप्रहरमा रहेको पिप्रहर होम स्टेमा खिचरी उत्सव आयोजना गरिएको छ ।