६ लाख स्मार्ट लाइसेन्स नेपाल आइपुग्यो




काठमाडाैं । यातायात व्यवस्था विभागले ६ लाख चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) नेपाल आइपुगेको जनाएको छ । विभागका अनुसार बाँकी ६ लाख पनि सम्झौता भएअनुसार ४५ दिनभित्र नेपाल आइपुग्नेछ ।

विभागका निर्देशक एवं प्रवक्ता ईश्वरीदत्त पनेरूले दिएको जानकारीअनुसार गत आर्थिक वर्ष २०७९ मा जर्मनको मूलवर्ग कम्पनीसँग १२ लाख कार्ड छपाइका लागि सम्झौता गरिएको थियो ।​​सम्झौताअनुरूप पहिलो चरणमा सन् २०२४ को जनवरी ६ मा छ लाख कार्ड त्रिभुवन विमानस्थल आइपुगेको उहाँले जानकारी दिनुभयाे ।




प्रवक्ता पनेरूका अनुसार ती कार्डलाई ‘क्लियर’ गर्न नेपाल राष्ट्र बैंकले ‘डेलिभरी अर्डर’ दिनुपर्ने हुन्छ । बैंकको सबै प्रक्रिया पुर्‍याएपछि आएको कार्डको ल्याब टेस्ट गराइन्छ । उहाँले भन्रुभयाे, ‘हामीले सम्झौता गर्दा खोजेको गुणस्तर छ कि छैन भनेर जाँच्न नेपाल आइपुगेको कार्डको ल्याब टेष्ट गर्छौं र त्यसको रिपोर्ट आइसकेपछि मात्र वितरण प्रक्रिया सुरू गर्छौं ।’

विभागले कार्ड पाउने बित्तिकै नियमित छपाइको सुरू हुने निर्देशक पनेरूले प्रतिबद्धता जनाउनुभयाे । उहाँले बाँकी रहेको छ लाख कार्ड पनि ४५ दिनभित्रमा सम्झौता भएको कम्पनीबाट आइपुग्ने जानकारी दिनुभयाे ।

‘चालू आवमा कार्ड खरिद र मास प्रिन्टर खरिदका लागि बजेट छुट्याएका छौं । सोअनुरूप हामीले अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्दा दुई कम्पनीले बोलपत्र हाल्नुभएको छ’, पनेरूले भन्रुभयाे, ‘त्यसको प्रविधिक मूल्याङ्कनको काम भइरहेको छ ।

त्यो सम्भव भयो भने १५ लाख ६० हजार कार्ड र एक मासप्रिन्टर तथा कार्ड छाप्दा प्रयोग हुने पर्सलाइजेसन सिस्टमको सफ्टवेयर बनाउने काम पनि हुन्छ । यी तीन कार्यका लागि हामीले उक्त टेन्डर गरेका छौं ।’



सम्बन्धित
Loading...