आगलागीबाट श्रीमतीको मृत्यु, श्रीमान भागेर बाँचे




लमजुङको मर्स्याङ्दी गाउँपालिका ४, स्याँगेमा घरसहित पसलमा आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ ।

बिहीबार राती आगलागी हुँदा आगालागीमा परेर ४४ वर्षीया सन्तमाया श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । सन्तमायाका श्रीमान् ४५ वर्षीय राजेन्द्र श्रेष्ठ भने आगलागीपछि माथिल्लो तलाबाट हाम फालेर बाच्न सफल भएका छ्न् ।




बेसीसहर नगरपालिका– गैरीडाँडा घर भएका श्रेष्ठ दम्पती बेंसीसहर–चामे सडकखण्डको स्याँगेमा सडक पुगेसँगै १८ वर्षदेखि किराना र कपडा पसल सञ्चालन गरेर बस्दै आएका थिए ।

मर्स्याङ्दी गाउँपालिका ४ का वडाअध्यक्ष बलबहादुर गुरुङले राती साँढे ११ बजेतिर आगलागी भएको अनुमान गरिएको र आफू १२ बजेतिर पुग्दा आगो ठूलो मात्रामा दन्किरहेको बताए ।

स्थानीय साथै तत्काल जगत प्रहरीको टोलीले आगो नियन्त्रणमा लिने प्रयास गरे पनि नसकिएको र नजिकै रहेका ग्यासका सिलिन्डरहरु हटाउन सफल भएकाले अन्य घरहरु आगलागीबाट जोगिएको उनले बताए ।

फलामे पोल गाढेर पर्खाल लगाएको, बाहिर सटर र माथि टिनको छानो लगाएर बनाएको घरमा रहेको पसलसमेत आगलागी भएको प्रहरीले जनाएको छ ।घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आगलागीबाट ग१६प ३९३८ को मोटरसाइकल पनि जलेको छ ।



सम्बन्धित
Loading...