साढे १३ लाख बढी नगद सहित ११ जना जुवाडे पक्राउ
काठमाडौं । प्रहरीले साढे १३ लाख बढी नगद सहित ११ जना जुवाडेलाई पक्राउ गरेको छ ।
सुन काण्डमा पक्राउ परेका दावा छिरिङ र उनकी पत्नी अमला रोकाले सञ्चालन गरेको होटलबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट १३ लाख ६२ हजार ५ सय रुपैयाँ र ४ बुक तास बरामद भएको प्रहरीले जनाएको छ ।
६१ किलो सुनकाण्डमा मुछिएका दावा छिरिङ र उनकी पत्नी अमला रोकाको होटलमा प्रहरीले छापा मारेको हो ।
जिल्ला प्रहरी परिसर, टेकुको टोलीले विशेष सूचनाका आधारमा उनीहरुले सञ्चालन गरेको होटल भियनामा छापा मारेर ११ जना जुवाडेलाई पक्राउ गरेको एसएसपी भुपेन्द्र खत्रीले बताए ।
उनका अनुसार, होटलको कोठा नम्बर ६१२ मा जुवा खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त, लैनचौरबाट समेत खटिएको टोलीले जोरपाटीका अरुण घिमिरे, काभ्रेका हरिबोल खनाल, किशोर अधिकारी, चितवनका दिपक गुरुङ, नुवाकोटका कृष्णबहादुर राई, राजु पन्त शंकर शाही, रुपन्देहीका घनश्याम शर्मा, रोल्पाका लीला डाँगी, बाँकेका मेद्दनाथ बुचबन्दिया र गोरखाका अर्जुन गुरुङलाई पक्राउ गरेको छ ।
उनीहरुको साथबाट १३ लाख ६२ हजार ५ सय रुपैयाँ र ४ बुक तास बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुमाथि जुवा ऐन अनुसार कारबाही प्रक्रिया अघि बढ्नेछ ।
होटल सञ्चालक दावा अहिले पुर्पक्षका लागि थुनामा छन् भने उनकी पत्नी अमला फरार छिन् ।