अरुण चौधरीलाई ४ दिन हिरासतमा राख्न अनुमति, चौधरी पक्राउ पछि व्यवसायीहरुमा खैलाबैला



सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका व्यवसायी अरुण चौधरीलाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत, काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले उनलाई हिरासतमा राख्न अनुमति दिएको सीआईबीका एक अधिकृतले बताए ।



ब्यूरोको टोलीले बिहीबार चौधरीसहित छालाजुत्ता कारखानाका सञ्चालक समितिका कार्यकारी प्रमुख अजितमानसिंह थापालाई पक्राउ गरेको थियो । उनलाई पनि ४ दिन हिरासतमा राख्न अनुमति पाएको प्रहरीले जनाएको छ ।

प्रहरीले अपराह्न सीजी चाँदबागका अध्यक्ष सञ्जय ठाकुरलाई पनि पक्राउ गरेको छ । उनलाई भोलि (शुक्रबार) अदालतमा उपस्थित गराउने प्रहरी तयारी छ ।

चौधरी प्रतिष्ठित व्यवसायी हुन्, बोलाएको भए आफैँ पुगेर अनुसन्धानमा सहयोग गर्थे : उद्योग परिसंघ

व्यवसायी अरुण चौधरीलाई किर्ते मुद्दामा पक्राउ गरेकोमा नेपाल उद्योग परिसंघले आकस्मिक पत्रकार सम्मेलन गर्दै आपत्ति जनाएको छ। प्रतिष्ठित व्यवसायीलाई विनासूचना पक्राउ गरिएको भन्दै परिसंघले असन्तुष्टि जनाएको हो।

बिहीबार साँझ आयोजित पत्रकार सम्मेलनमा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले कसुर प्रमाणित नभइ पक्राउ गरेको भन्दै पक्राउ प्रकृयामा आफूहरुको विमति रहेको बताए।

‘हाम्रो भनाइ पक्राउ गर्नै नपाउने भन्ने होइन, प्रकृयाको इस्यु हो । कमसेकम आफ्नो कुरा राख्ने मौका दिनुपर्छ । अनुसन्धान गर्ने, सोधपुछ गर्ने हो भने बोलाइन्छ र सोधपुछ गरिन्छ । त्यसपछि प्रमाणित भए पक्राउ गर्दा हाम्रो कुनै विमति छैन। तर कुनै सूचना नदिई सिधा अफिस, घरमा बसेको व्यक्तिलाई पक्राउ गर्नुमा हाम्रो विमति छ,’ अध्यक्ष अग्रवालले भने, ‘उहाँ एउटा प्रतिष्ठित व्यवसायी हो, बोलाएको भए उहाँ आफैँ पुगेर अनुसन्धानमा सहयोग गर्नुहुन्थ्यो।’

बाँसबारी छाला तथा जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा चौधरीलाई प्रहरीले पक्राउ गरेपछि परिसंघले आकस्मिक पत्रकार सम्मेलन गरेको हो। किर्ते कागजपत्र पेस गरी १० रोपनी जग्गा हडपेको सिआइबीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ।


सम्बन्धित
Loading...