भारतीय अभिनेत्री पुनम पाण्डे मृत्युको खबर झुट, यसरी फैलियो झुटो खबर




दक्षिण भारतीय अभिनेत्री पुनम पाण्डेको निधनको शुक्रबार एकाएक खबर सार्वजनिक भएको थियो । पाण्डेकै अफिसियल इन्स्टाग्राम अकाउन्टबाट सेयर गरिएको पोस्टमार्फत उनको पाठेघरको क्यान्सरका कारण ३२ वर्षको उमेरमा निधन भएको दाबी गरिएको थियो ।

उनको आफ्नै इन्स्टाग्राममार्फत पुनमका म्यानेजरले मृत्युको खबर पोस्ट गरेको खबर बाहिरिएको थियो । तर, अभिनेत्री पुनम पाण्डेको निधन नभएको उनी आफैँले शनिबार जानकारी दिएकी छन् । उनले आफैँले शनिबार इन्स्टाग्राममा भिडियो सेयर गर्दै आफू जीवित रहेको जानकारी दिएकी हुन् ।




आफ्नो मृत्युको नक्कल गर्ने अभिनेत्रीले आफूलाई क्यान्सर पनि नभएको तर पाठेघरको मुखको क्यान्सरविरुद्ध जनचेतना फैलाउन यो सबै गरेको खुलासा गरेकी छन् ।

मृत्युको खबर झुटो साबित भएपछि अहिले फेरि उनले चर्को आलोचनाको सामना गर्नुपरेको छ । यो भद्दा मजाकको लागि प्रयोगकर्ता र स्टारहरूले उनको आलोचना गरिरहेका छन् । उनले माफी पनि मागेकी छन् ।

पाण्डेले इन्स्टाग्राममा भिडियो सेयर गर्दै भनेकी छिन्,‘म तपाईँहरू सबैसँग एउटा महत्त्वपूर्ण कुरा साझा गर्न बाध्य छु । म जीवित छु । पाठेघरको मुखको क्यान्सर मलाई लगेन, तर दुःखको कुरा रोगसँग कसरी लड्ने भन्ने ज्ञानको अभावमा यसले हजारौँ महिलाको ज्यान लिएको छ । केही अन्य क्यान्सरहरू भन्दा फरक भएकाले पाठेघरको क्यान्सर पूर्ण रूपमा रोक्न सकिन्छ ।’

पाण्डेको इन्स्टाग्राम अकाउन्टमा शुक्रबार सेयर गरिएको पोस्टमा ‘आजको बिहानी हाम्रा लागि कठिन छ । पाठेघरको मुखको क्यान्सरका कारण हामीले हाम्री प्यारी पूनमलाई गुमाउनु परेको जानकारी गराउँदा अत्यन्त दुःख लागेको छ । उहाँको सम्पर्कमा आउने जो कोहीलाई पनि उहाँलाई मायाले भेट्नुभयो । शोकको यस समयमा हामी गोपनीयता कायम गर्न अनुरोध गर्दछौं र उहाँहरुले साझा गरेका सबै कुराको लागि उनीहरूलाई मायापूर्वक सम्झनेछौं’ भन्ने उल्लेख थियो ।

यो पोष्ट सार्वजनिक भएपछि कलाकार कंगना रनावत र अनुपम खेरले पनि सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरेका थिए । इण्डिया टुडेमा प्रकाशित एक समाचारमा पाण्डेको सुरक्षागार्डले आफू विरामी भएको कहिल्यै उल्लेख नगरेको बताएका थिए ।

पाण्डेको मृत्युको खबरबारे पुष्टि गर्न उनको परिवारका सदस्यहरुलाई सम्पर्क गर्न खोज्दा कि त फोन अफ भएको कि फोन नउठेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

शनिबार उनकै एकाउन्टबाट आएको पोष्टले उनको मृत्युको खबर झुटो खबर फैलिएको थियो ।

पाण्डेले सन् २०१३ मा फिल्म ‘नशा’ बाट बलिउडमा डेब्यू गरेकी हुन् । उनी पछिल्लो पटक फिल्म ‘द जर्नी अफ कर्मा’ मा देखिएकी थिइन् । टिभीतर्फ उनी ‘खतरों के खिलाडी १३’ र कंगना रनौतको रियालिटी शो ‘लकअप’ मा सहभागी थिइन् ।



सम्बन्धित
Loading...