गएराति नवलपरासीमा सुनचाँदी व्यवसायीमाथि गोली प्रहार, अवस्था गम्भीर
रामकुमार श्रेष्ठ –
नवलपरासी । पश्चिम नवलपरासीमा २÷३ जनाको समूहमा आएका लुटेराहरुको समूहले सुनचाँदी व्यवसायीमाथि गोली प्रहार गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक रमेश बोहराका अनुसार बर्दघाट १६ निवासी ६५ बर्षीय सुनचाँदी व्यवसायी गजेन्द्र विश्वकर्मामाथि गोली प्रहार गरेको हो ।
उनलाई सुनचाँदी लुट्ने उद्देश्यले गोली प्रहार गरेको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।
गोली प्रहारबाट घाइते विश्वकर्माको तत्काल बर्दघाटको चिसापानी अस्पतालमा उपचारका लागि लगिए तापनि त्यहाँ उपचार हुन नसकी थप उपचारको लागि बुटवल स्थित तिनाउ अस्पतालमा पठाइएको छ । घाइतेको अवस्था गम्भीर रहेको छ ।
सुस्ता गाउँपालिका–१ बरुवामा सुनचाँदी पसल गर्ने विश्वकर्मामाथि घर फर्कने क्रममा बर्दघाट नगरपालिका–१६ केराबारीनजिकै शनिबार राति गोली हानिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी डिएसपी रेशम बोहराले बताए । उनको पाखुरामा गोली लागेको छ । ण्
लुट्ने उद्देश्यले गोली प्रहार गरेको प्रहरीले जनाए पनि सुनचाँदी व्यवसायी विश्वकर्माले गरगहना सँगै नल्याएका कारण लुटेराहरुले उनलाई लुट्न नपाएको प्रहरीले जनाएको छ ।
गोली प्रहार गर्ने व्यक्तिको खोजी कार्य भइरहेको डीएसपी बोहराले बताए । विश्वकर्माले प्रयोग गर्ने स्कुटरसमेत आक्रमणकारी समूहले लिएर भागेको भए पनि घटना स्थलदेखि ४ किलोमिटर पर फेला परेको प्रहरीले जनाएको छ ।