बलात्कार आरोपमा प्रहरीका पूर्वसई पक्राउ




काठमाडौं । बलात्कार आरोपमा नेपाल प्रहरीका पूर्वप्रहरी नायब निरीक्षक (सई) अनिरुद्र यादव पक्राउ परेका छन् । कलंकीमा एउटै घरमा डेरा गरी बस्ने एक किशोरीलाई १७ पुसमा आमा घरमा नभएका बेला पटकपटक बलात्कार गरेको भन्दै पीडितले जाहेरी दिएपछि उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौंले पक्राउ गरेको हो ।

पीडितले जाहेरीमा उल्लेख गरेअनुसार, आरोपी यादवले कोठा ढक्ढक्याएर पानी मागेको र त्यसपछि भित्र प्रवेश गरेर विभिन्न धम्की दिँदै बलात्कार गरेका थिए । करणी गर्न नदिए एसिड छ्याप्छु भन्दै धम्की दिने, बन्दुकको गोलीसमेत देखाउने गरेको पीडित किशोरीले प्रहरीसमक्ष बयान दिएकी छिन् ।




जाहेरीका आधारमा पक्राउ गरेर सरकारी वकिलको रोहबरमा प्रहरीले बयान लिँदा भने पूर्व सई यादवले इन्कारी बयान दिएका छन् । उनले पीडितकी आमासँग आफू सम्बन्धमा रहेको बताउँदै पीडितलाई आफ्नो छोरी जस्तै मान्ने गरेको दाबी गरेका छन् ।

प्रहरीले भने अनुसन्धानपछि पीडितको स्वास्थ्य जाँच प्रतिवेदन समेत समावेश गरेर बलात्कार गरेको पुष्टि हुने निष्कर्षसहित रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा बुझाएको छ । सरकारी वकिलले जिल्ला अदालत, काठमाडौंमा जबरजस्ती करणीको कसूरमा मुद्दा दर्ता गराएको छ ।



सम्बन्धित
Loading...