नवलपुरमा गैडाको आक्रमणबाट बाख्रा चराउन गएकी महिला घाइते

रामकुमार श्रेष्ठ
नवलपुर । पूर्वी नवलपरासीमा गैडाको आक्रमणमा परी एक जना महिला घाइते भएकी छिन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार आज दिउँसो साढे २ बजेतिर देवचुली १० पृथ्वीनगर लोकाहा खोला किनारमा देवचुली १० पृथ्वीनगरकी ६० बर्षीया महिला ठगिसरा सुनारी मगरलाई गैडाले आक्रमण गरेको हो ।
उनी बाख्रा चराउन जंगल गएकी बेला गैडाले आक्रमण गरेको हो । उनको ढाड, बाँया गाला, दाँया खुट्टा र दुवै पाखुरामा चोट लागेको छ ।
घाइते सुनारी मगरको अवस्था मध्यम रहेको र उनको दलदले स्थित देवचुली अस्पताल दलदलेमा उपचार भईरहेको छ ।
घटनाको बारेमा थप अनुसन्धान भईरहेको र उक्त वन क्षेत्रमा प्रहरी टोली वन कार्यालयका कर्मचारी खटिएको प्रहरीले जनाएको छ ।