जिएम भलिबल कप फाल्गुन ५ देखि कुमारवर्ती क्याम्पसमा
रामकुमार श्रेष्ठ —
नवलपुर । जिएम समाज कावासोतीको आयोजनामा कावासोतीमा हुने जिएम भलिबल कप प्रतियोगिता फाल्गुन ५ गतेदेखि कुमारवर्ती क्याम्पसमा हुने भएको छ ।
प्रतियोगिता फाल्गुन ८ गतेसम्म चल्ने छ । प्रतियोगितामा नेपाल पुलिस, नेपाल आर्मी, आम पुलिस फोर्स, गण्डकी प्रदेश पोखरा र जिएम समाज कावासोतीबीच हुने छ ।
जिएम समाजले यस अघि नै प्रतियोगिता गर्ने भने पनि सहभागी टिमको समय अनुकुल मिलाउँदा प्रतियोतिगाको मिति सारिएको आयोजक संस्था जिएम सोसाइटी समाज कावासोतीका अध्यक्ष जितबहादुर आले मगरले बताए ।
शुक्रबार कावासोतीमा पत्रकार सम्मेलनको आयोजना गरी जिएम समाजले जस्तो जानकारी गराएको हो । यस अघि प्रतियोगिता माघ ९ गतेदेखि १३ गतेसम्म हुने जनाइएको थियो ।
प्रतियोगिता लिग चरण अन्तरगत खेलाईने छ । प्रतियोगितामा प्रथम हुनेले नगद २ लाख, द्वितीय हुनेले १ लाख, तृतीय हुनेले ५० हजार र चौथो हुनेले २५ हजार पुरस्कार पाउने जिएम समाज कावासोतीका महासचिव धिरेन्द्र प्रताप गाहाले बताए । पुरस्कारको सम्पूर्ण रकम अर्थात ३ लाख ७५ हजार युवा व्यवसायी गैडाकोट ३ निवासी विरेन्द्र थापाले सहयोग गरेका छन् ।
पत्रकार सम्मेलनमा कावासोती २ का वडाध्यक्ष शिव पाण्डेले नगरपालिका र वडा कार्यालयको तर्फबाट प्रतियोगिताको लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।
पत्रकार सम्मेलनमा बोल्दै जिएम समाजका बरिष्ठ उपाध्यक्ष खिमबहादुर थापाले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको बताए ।