तामाङ समुदायले आज सोनाम ल्होसार मनाइँदै


आज माघ शुक्ल प्रतिपदा, तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक सोनाम ल्होसार मनाउँदै छन् ।



आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश हुँदैछ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन , सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

Indigenous people from Tamang community display a traditional woven tray that reads Tamang Sonam Losar during Sonam Lhosar festival in Kathmandu, Nepal on Tuesday, February 05, 2019. Photo: Skanda Gautam/THT



ल्होसारमा १२ वटा जीवजन्तुका नामबाट ल्हो खोर्लो अर्थात् वर्ष चक्रका आधारमा हरेक वर्ष पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गरी धार्मिक र सांस्कृतिक विधिअनुसार यो पर्व मनाउने गरिन्छ ।

भूमिपूजा, कूलपूजा एवं दानदक्षिणा, ढोगभेट, नाचगान, मिठो परिकार बनाएर खाने र शुभकामना आदानप्रदान गरी यो पर्व मनाउने चलन छ । समुदायका सबै जना एकै ठाउँमा भेला भई सामूहिक रुपमा मनाइने यो पर्व मुलुकका विभिन्न भूभागमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा लगायतले आ–आफ्नो परम्परा अनुसार मनाउँछन् ।

तामाङ जातिको बाहुल्य रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ । राजधानीको टुँडिखेल, बौद्ध, स्वयम्भू क्षेत्रमा विविध कार्यक्रम आयोजना गरी ल्होसार मनाइँदै छ ।

राष्ट्रपति र उपराष्ट्रपतिद्वारा सोनाम ल्होसारको शुभकामना

राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादवले तामाङ समुदायको सोनाम ल्होसार पर्वका अवसरमा शुभकामना दिएका छन् ।

छुट्टाछुट्टै शुभकामना सन्देश जारी गर्दै उनीहरूदे स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति एवं समृद्धिको कामना गरेका हुन् ।

राष्ट्रपतिले दिएको शुभकामना सन्देशमा बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होसार जस्ता पर्वहरूबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुनाका साथै यसबाट बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ ।

यस्तै, उपराष्ट्रपति यादवले सामाजिक एकतासँगै नेपालीको राष्ट्रिय भावनालाई थप मजबूत बनाउन सोनाम ल्होसारले सहयोग पुग्ने बताएका छन् ।

शुभकामना सन्देशमा उनले गणतन्त्रात्मक संवैधानिक व्यवस्था प्रणालीले बहुजाति, बहुभाषा, बहुसंस्कृति, बहु-वेशभूषालाई संरक्षण गर्दै सबै क्षेत्र, भूगोल, धर्म, समुदाय र संस्कृतिलाई परस्पर जोड्ने काम गरेको दाबी गरेका छन् ।

सोनाम ल्होसार पर्व तामाङ समुदायको नयाँ वर्षको रूपमा प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाको दिन मनाइन्छ । यस पर्वमा तामाङ समुदायले कुल पूजा, प्रकृति पूजा र बुद्धका सन्देशको स्मरण गर्नुका साथै आफन्तजन भेला भई मनोरञ्जन गर्दै आपसमा खुसी आदानप्रदान गर्ने गर्दछन् ।

सोनाम ल्होसार पर्व तामाङ समुदायको नयाँ वर्षको रूपमा प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाको दिन मनाइन्छ । यस पर्वमा तामाङ समुदायले कुल पूजा, प्रकृति पूजा र बुद्धका सन्देशको स्मरण गर्नुका साथै आफन्तजन भेला भई मनोरञ्जन गर्दै आपसमा खुसी आदानप्रदान गर्ने गर्दछन् ।

मुलुकका विभिन्न स्थानमा बसोबास गर्ने तामाङसहित ह्याल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिहरूले आ–आफ्नै शैली र परम्पराअनुसार यो पर्व मनाउने गरेका छन् ।



सम्बन्धित
Loading...