नवलपरासीमा मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ

रामकुमार श्रेष्ठ —
परासी । पश्चिम नवलपरासीमा मोटरसाइकल चोरीमा सम्लग्न रहेका २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नवलपरासीको प्रतापपुर १ निवासी २४ बर्षीय कुमार चौधरी र १९ बर्षीय राहुल यादव रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार उनीहरुले प्रतापपुर गाउँपालिका वडा नं. २ गोपिगञ्ज प्लटिङ् स्थित छायाँ होटल अगाडी सडकमा रोकि राखेको प्रतापपुर गाउँपालिका १ सेमरी वस्ने बिजय चौधरीको लु २ प १२५६ नम्बरको हिरो होण्डा स्पेलेण्डर मोटरसाईकल चोरी गरेका थिए ।
उनीहरुलाई मोटरसाइकल चोरी गरी भाग्ने क्रममा तत्काल ईलाका प्रहरी कार्यालय सेमरीबाट खटिएको प्रहरी टोलीले रङ्गेहात पक्राउ गरेको थियो ।
उनीहरुलाई चोरी सम्बन्धी कसुर मुद्दामा म्याद थप गरी अनुसन्धान कार्य गरिरहेको प्रहरीले जनाएको छ ।