नवलपुरमा भाले बाघ मृत भेटियो


रामकुमार श्रेष्ठ –
नवलपरासी । पूर्वी नवलपरासीमा भाले प्रजातिको बाघ मृत अवस्थामा फेला परेको छ ।



जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार मध्यविन्दु नगरपालिका १० अरुणखोला नजिकै भूपु तमासपुर जाने बाटो नजिकै वनमा बाघ मृत फेला परेको हो ।

घटना स्थलमा अहिले प्रहरी र डिभिजन वन कार्यालय कावासोती नवलपुरको टोली जाँदै गरेको प्रहरीले जनाएको छ ।




डिभिजन वन कार्यालयका वन अधिकृत अर्जुन सापकोटाले उक्त बाघ कालगतिले मरेको बताए । उनका अनुसार १०÷१५ दिन अगाडि उक्त बाघ मरेको हो । बाघ सडिगलिसकेको अवस्थामा फेला परेको उनले बताए ।

सापकोटाका अनुसार उक्त बाघलाई स्थानीय बासिन्दा, प्रहरी र वन कर्मचारीको रोहबरमा मुचुल्का तयार पारी घटना स्थल वरपर नै गाडेर छाडिने छ ।

स्थानीयका अनुसार उक्त स्थानमा स्थानीयले ८÷१० दिन अघि उक्त बाघ देखे पनि सुतेर बसेको आशंकामा बाघलाई छाडेका थिए । अहिले जंगल जाँदा बाघ सडिसकेको अवस्थामा भेटेपछि प्रहरी र वनका कर्मचारीलाई खबर गरेका थिए ।

प्रहरी र वनका कर्मचारीले उक्त बाघ नरभक्षि भए नभएको अहिले नै यकिन नभएको बताए । उक्त बाघ भाले बाघ रहेको र १२÷१५ बर्षको उमेरका बाघ भएको अनुमान गरेको छ ।
बाघ भेटिएको क्षेत्र वरपर यस अघि बाघले मानिस र घर पालुवा जनवारलाई आक्रमण गरी खाने गरेको थियो ।


तस्वीरहरुः समाजिक संजालबाट



सम्बन्धित
Loading...