हिंसाविरुद्वको राष्ट्रिय पत्रकारिता पुरस्कार सुनारलाई प्रदान
मीना कंडेल –
कावासोती, फागुन ९ गते –
नवलपुरमा स्थापित राधा क्यान्सर सचेतना तथा हिंसाविरुद्वको चौथो राष्ट्रिय पत्रकारिता पुरस्कार यस वर्ष पवित्रा सुनारलाई प्रदान गरिएको छ । राधा क्यान्सर सचेतना फाउण्डेसनद्वारा स्व. राधा बस्यालको जन्मजयन्तीमा हरेक वर्ष फागुन ९ मा हिंसाविरुद्वको राष्ट्रिय पत्रकारिता पुरस्कार उत्कृष्ठमध्ये एक जना पत्रकारलाई प्रदान गर्दै आइरहेको छ ।
राधा क्यान्सर सचेतना तथा हिंसाविरुद्वको राष्ट्रिय पत्रकारिता पुरस्कारका लागि यस वर्ष परेका आवेदक मध्येबाट नागरिक दैनिकमा कार्यरत सूर्यविनायक ३ भक्तपुरका पवित्रा सुनारलाई प्रदान गरिएको हो । गण्डकी प्रदेश सभा सदस्य विन्दु पौडेलले सो पुरस्कार प्रदान गर्नु भएको हो ।
राधा क्यान्सर सचेतना तथा हिंसाविरुद्वको चौथो राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशसभा सदस्य विन्दु पौडेलले खानपानकै कारण क्यान्सर लगाएतका नसर्ने रोगको जोखिम बढ्ने भएकाले सर्वसाधरणलाई सचेत गराउन आवश्यक रहेकोे बताउनु भएको छ । पछिल्लो समय नेपालमा क्यान्सर भयावह रूपमा देखिदैं गएको हुनाले सबै नागरिक सचेत हुनुपर्ने बताउनु भयो ।
कार्यक्रममा बोल्दै प्राकृतिक चिकित्सालय रजहरका निर्देशक डा. विनोद पौडेलले खानपान, आचरण र नियमित योग गरेमा स्वस्थ रहन सकिनेमा जोड दिनु भयो । करिब ९० प्रतिशत मानिस खानपानमा ध्यान नदिदा क्यान्सर जस्तो घातक रोगको सिकार भएको बताउनु भयो । क्यान्सर रोगको बारेमा जनचेतना जगाउनुपर्ने बताउनु भयो ।
त्यस्तै कावासोती नगरपालिका वडा नं २ का वडाअध्यक्ष शिव पाण्डे , नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष नारायण शर्मा, सिद्धार्थ बोडिङका प्रिन्सिपल भोजराज दाहाल लगायतले स्वर्गिय राधाले लामो समयसम्म पत्रकारीतामा पुयाएको योगदानको चर्चा गर्दै क्यान्सर जस्तो भयावह रोगबाट बच्न जनस्तरमा जनचेतना फैलाउन आवश्यक रहेको बताउनु भयो । आफु रोगसंग लडिरहेको अवस्थामा पनि समाजप्रति गरेको उहाँको योगदानलाइ भुल्न नहुने भन्दै क्यान्सर तथा हिंसामा परेका व्यतिmको पत्रकारिताबाट नै न्युनिकरण गर्न सकिने बताउनु भयो ।
फाउण्डेसनका अध्यक्ष प्रकाश बस्यालले नेपालमा कति क्यान्सर भएका छन् भन्ने एकिन तथ्याङक नरहेको भन्दै नागरिकलाई सुसुचित गराउन र सहि तथ्याङक सरकाले राख्न सक्नुपर्ने बताउनु भयो । सम्बन्धित निकायले क्यान्सर लागेका आर्थिक स्थिति कमजोर भएका नागरिकलाई सहयोग गर्नुपर्ने बताउनु भयो ।
विसं २०४८ सालमा जन्मिएकी पत्रकार राधा बस्यालको २०७७ कार्तिक १४ गतेका दिन स्तन क्यान्सरको कारणले निधन भएको थियो । एकदशक भन्दा लामो समयदेखि नवलपुरमा रहेर पत्रकारिता गर्दै आउनु भएको थियो । समाजमा महिला हिंसा र स्तन क्यान्सरको विषयमा सचेतना अभियान सन्चालन गर्न राधा क्यान्सर फाउन्डेसनको स्थापना गरेर गाउँ गाउँमा सचेतना अभियानसमेत चलाउनु भएकी बस्यालकोे निधनपश्चात फाउन्डेसनलाई उहाँका भाइ पत्रकार प्रकाश बस्यालले निरन्तरता दिईरहनु भएको छ ।