नवलपुरका दुग्ध उत्पादक कृषक आन्दोलित
नवलपुर । नवलपुरका दुग्ध उत्पादक कृषक आन्दोलित बनेका छन् ।
जिल्ला दुग्ध उत्पादक सहकारी संघ नवलपुरको अगुवाइमा जिल्लाका दुग्ध उत्पादक कृषकहरूले आज जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् ।
जिल्ला दुग्ध उत्पादक सहकारी संघ नवलपुरका अध्यक्ष गोपाल श्रेष्ठले किसानको माग सहितको ज्ञापनपत्र वाचन गरेर सुनाए ।
किसानले विगत ६ महिनादेखि किसानले भुक्तानी नपाएको ,१५ करोड भन्दा बढी भुक्तानी पाउन बाँकी रहेको, भारतबाट रोग जाँच नगरीकन लैना गाईभैँसी र दूध भित्राउने तर नेपाली किसानले उत्पादन गरेको दूध एवं दुग्ध जन्य पदार्थले बजार नपाउने , हप्ताको तीन दिन मिल्क होली डे हुने अवस्था आएको लगायतका विसंगति विरुद्ध किसान आन्दोलित हुनु परेको हो ।
प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै अध्यक्ष श्रेष्ठले किसानको माग सम्बोधन नभए , यही फाल्गुन १७ गते १० बजेदेखि १२ बजेसम्म दुइ घण्टा चक्का जाम गर्ने जानकारी गराए ।
प्रमुख जिल्ला अधिकारी श्रेष्ठले ज्ञापनपत्र तत्कालै सम्बन्धित निकायमा पठाउने प्रतिबद्धता जनाए।
नवलपुर जिल्लामा हाल २४ वटा दुग्ध सहकारीबाट दूध बिक्री हुँदै आएको छ भने, दैनिक ५० हजार लिटरको हाराहारीमा दूध उत्पादन हुने गरेको छ । जसमा १२ हजार भन्दा धेरै कृषक आबद्ध रहेका छन् ।
ज्ञापनपत्र बुझाउनु अघि किसानहरूले नाराबाजी गर्दै प्ले कार्ड बोकेर र्याली निकालेका थिए । प्रशासन कार्यालयको गेट अगाडि समेत किसानहरूले मिल्क होली डे को अन्त्य गर , दूधको रकम भुक्तानी गर , विदेशी दुध आयात बन्द गर , कृषि मन्त्री राजिनामा दे लगायतका नाराबाजी गरेका थिए ।