बर्षाका कारण गएरातिदेखि दाउन्नेमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध, आज खुल्ने सम्भावना कम

रामकुमार श्रेष्ठ –
नवलपरासी । गएराति परेको पानीका कारण पूर्वपश्चिम राजमार्गको दाउन्ने सडक खण्डमा रातिदेखि यातायात अवरुद्ध भएको छ ।
अवरुद्ध सडक अझै खुल्न सकेको छैन । इलाका प्रहरी कार्यालय बर्दघाटका अनुसार अवरुद्ध सडक अझै खुल्न सकेको छैन । साना सवारी साधन एकाधदुई सञ्चालनमा आए पनि ठूला सवारी साधन सञ्चालनमा आएको छैन ।
पूर्वपश्चिम सडकको बुटवल नारायणगढ सडक विस्तारको क्रममा ठाउँठाउँमा बनेको डाइभर्सन र सडकमा रहेको चिप्लो तथा धुलो माटोको कारण बाटो अवरुद्ध हुन पुगेको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक साजन शर्माका अनुसार बाटो चिप्लो भएको र ठाउँठाउँमा पहिरो खसेका कारण सडक खुलाउन गाह्रो भउको छ । प्रहरीका अनुसार आजै बाटो खुल्ने सम्भावना निक्कै काम भएको छ ।
पूर्व–पश्चिम राजमार्गको चोरमारा–दाउन्ने सडक खण्ड आइतबार रातभरी अवरुद्ध हुँदा हजारौं यात्रुले सास्ती पाउनु परेको छ । सडक मर्मत र हल्का पानी परेकाले बाटो चिप्लो भएका कारण जाम हुँदा यात्रुले सास्ती पाउनु परेको हो ।
जाम भएको सडक खुलाउन कसैले पहल नगर्दा यात्रुहरु घण्टौंसम्म जाममा परेका थिए । पूर्वी नवलपरासीभन्दा पश्चिम नवलपरासीमा बढी समस्या देखिएको नवलपुरका वरिष्ठ प्रहरी सहायक निरिक्षाक मिन बहादुर कुँवरले जानकारी दिए ।

‘लोड बोकेका गाडीको लामो लाइन भएको र हल्का पानी परेकाले निर्माणाधिन सडकमा समस्या देखिएको हो, वरिष्ट प्रहरी सहायक निरीक्षक कुँवरले बताए ।
रातभरि जाम पर्दा पनि कसैले खुलाउन पहल नगर्दा यात्रुले थप सास्ती पाउनु परेको छ । पूर्व–पश्चिम राजमार्गमा यात्रा गर्दा यो सडक खण्ड पार गर्न अहिले सबैभन्दा कठिन छ । घुमाउरो बाटोमा भित्ता कटान गरेका कारण घाम लाग्दा धुलाम्मे हुने यो सडक हल्का पानी पर्दा पनि चिप्लो हुने गरेकाले यात्रा गर्न कठिन हुने गरेको हो ।
सडक विस्तारको काम भइरहेको नारायाघाट–बुटबल सडक खण्डको हालसम्म खण्ड ‘क’ मा ४८.१६ प्रतिशत अर्थात २४ किलोमिटर एकतर्फी पीच भएको छ भने खण्ड ‘ख’ मा पीच नभए पनि ४६ प्रतिशत भौतिक प्रगती भएको ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशन प्रा।लि।का प्रोजेक्ट म्यानेजर राकेश झाले जानकारी दिए ।
गैंडाकोटदेखि दाउन्नेसम्म ६४.४२५ किलोमिटर सडकको पूर्वी भागलाई खण्ड ‘क’ र दाउन्नेदेखि बुटवलसम्मको ४८.५३५ किलोमिटरको पश्चिम भागलाई खण्ड ‘ख’ अन्तर्गत राखिएको छ । निर्माण कम्पनीले यो वर्ष भित्रमा नारायणघाटदेखि दुम्कीवाससम्ममा एकतर्फी पिच गरिसक्ने प्रतिवद्धता जनाएको छ ।
राति बर्दघाटदेखि चोरमारासम्म यातायात आउजाउमा समस्या भएको थियो ।
