किर्ते गरी आफ्नै मृत्यु दर्ता र सदगद गर्ने तान्त्रिक झाँक्री नवलपरासीमा पक्राउ

रामकुमार श्रेष्ठ –
नवलपरासी । सरकारी लिखत र छाप किर्ते गरेको आरोपमा पश्चिम नवलपरासीबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी निरीक्षक सुदर्शन पन्थीका अनुसार पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नं. १४ गंगाबस्ती निवासी शिवनारायण सिंहलाई प्रहरीले पक्राउ गरेको हो ।
तान्त्रिक विद्या सिकाउने र झारफूक समेत गर्दै आएका शिव नारायण सिंहले सरकारी कागज तथा छाप किर्ते गरी आफ्नै मृत्यु दर्ता गरेको र आफ्नै सदगद (दाहसंस्कार) गरेको कागज बनाएको पाइएको हो ।
प्रहरीले सरकारी लिखत र छाप किर्ते गरकेो भन्ने गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खेटिएको टोलीले सिंहको घरमा खानतलासी गर्दा निज स्वयम्को मृत्यु प्रमाणित कागज १ थान, रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ४ वडा कार्यालय छिपागढको रवर स्ट्याम्प (छाप) १ थान, वडाध्यक्षको रवर स्ट्याम्प (छाप) थान १, २०६९ साल माघ ५ गते शिव नारायण सिंहको नामको सदगद पुर्जी
समेतको फोटोकपी १ थान र पाना १, र निजको नागरिकताको फोटोकपी १ थान फेला पारेको प्रहरीले जनाएको छ ।
पक्राउ परेको सिंहलाई इलाका प्रहरी कार्यालय बर्दघाटमा राखी नवलपरासी जिल्ला अदालतबाट लिखत सम्बन्धी कसुरमा म्यादथप गरी अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।